धरान: विभिन्न घटनामा प्रदेश नं १ मा हिजो ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार २ जनाको लडेर मृत्यु भएको हो भने एक जनाको माइक्रोको ठक्करले मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको ईनरुवा ९ का ३५ बर्षीया दुखनीदेबी खत्वेको लडेर मृत्यु भएको छ । हिजो दिउसो १ बजे खेतमा घाँस काट्ने क्रममा दुखनीदेबी अचानक लडेर बेहोस भएकी थिईन । बेहोस भएकी उनलाई आफन्तले तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै, मोरङ सुन्दर हरैचा १२ मा बस्दै आएका ३५ बर्षीय कुमार उरामनको पनि लडेर मृत्यु भएको छ। हिजो अपरान्ह ४ बजे न्यु पन्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोरतर्फ लाने क्रममा अचानक लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यसैगरि, पाँचथर याङ्बरक ३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रोको ठक्करबाट मृत्यु भएको छ । हिजो राती सवा ९ बजे झापाको बिर्तामोड ५ मा बा ४ ख ५१०० नम्बरको माइक्रो गाडीले पैदल यात्री लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ठक्कर दिने माईक्रो र चालक भद्रपुरका बाबुराम कटेल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।