धरान: आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सक र पदाधिकारीबीच वार्ता भएको छ । वार्ता भएपनि चिकित्सकहरुले आन्दोलन भने जारी राख्ने भएको छ ।

वार्तामा प्रतिष्ठानका चारै जना पदाधिकारीहरु सहभागी थिए । चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजबाट अध्यक्ष डा. विष्णु पोखरेलसहित दर्जन चिकित्सकहरु सहभागी थिए । वार्ता भएपनि माग पुरा हुने लिखित प्रतिवद्धता वा ठोस परिणाम आउने वातावरण नभएसम्म आन्दोलन जारी रहने चिकित्सकहरुको भनाई छ । समाजका महासचिव डा.सुर्यप्रसाद रिमालका अनुसार पदाधिकारीहरुसँग मागबारे छलफल भएपनि ठोस निष्कर्षमा भने पुग्न सकेन । अहिलेसम्म संयमित भएर आन्दोलन गरिरहेको भन्दै महासचिव रिमालले अझै पनि वेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनी दिए । ‘समयमा तलब देउ, नियमित प्रमोसन गर, विमा गरिदेऊ, सरकारले पठाएको जोखिम भत्ता देऊ भनेर हामी मागिरहनुपर्ने नै होइन,’डा.रिमालले भने,‘तर विडम्बना त्यही माग लिएर आन्दोलन गर्नुपरेको छ, पदाधिकारीहरु नसुनेझै गरेर बस्या छन् ।’

महासचिव रिमालले ठोसरुपमा लिखितरुपमा प्रतिवद्धता नभएसम्म आन्दोलन जारी रहने बताए । उनले अहिलेसम्म विरामीले दुःख पाउनु हुन्न भन्ने नैतिक आधारमा बाँधिएर संयमितरुपमा मात्र आन्दोलन गरिरहेको तर धैर्यताको बाँध टुट्ने अवस्था आउन लागेको पनि बताए । ‘जनताले दुःख पाउनुहुदैन भनेर सचेत छौं, त्यसैले संयमित भएर आन्दोलनमा छौं,’उनले भने,‘हामीले गर्ने मुख्य तीन कामहरु स्वास्थ्य सेवा, पढाउने र रिसर्च नियमित गरिरहेका छौं । तर, यस्तै रवैया हो भने कहिलेसम्म धैर्य रहने ?’

यद्यपी, पदाधिकारीहरुले मागबारे सकरात्मक भएको र प्राथमिकतामा राखेको प्रतिक्रिया दिएकोले चाडै पुरा हुने अपेक्षा राखिएको पनि उनले बताए । ‘हामीले समग्र प्रतिष्ठानको सुधारको लागि १७ बुँदे मागहरु राखेका छौ, ती सबै कार्यान्वयनमा जानुपर्छ,’उनले थपे । चिकित्सकहरुले विगत अढाई बर्षदेखि रोकिएको नियमित बढुवा, जोखिम भत्ता, वृद्धि भएको तलब दिइनुपर्नेलगायत मागहरु राखेका छन्

वार्तामा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले प्रमोसनको लागि नियमावली संशोधन गर्न तत्काल कार्यकारिणी समितिलाई पत्र काट्ने बताए । रजिष्टार डा.मोहनचन्द्र रेग्मीले सरकारले पछिल्लो समय जोखिम भत्ता, क्वारेन्टिन र कर्मचारी व्यवस्थापन शिर्षकमा १ करोड २४ लाख बजेट आएको जानकारी दिएका थिए । उनका अनुसार आइसोलेसन वार्ड, फिवर क्लिनिक र कोभिड अस्पतालमा कार्यरत स्वास्थकर्मीहरूलाई मात्र रोस्टरको आधारमा जोखिम भत्ता दिन सरकारको निर्देशन छ । दशैंको पेश्कीसहित तलब पनि चाडै विरतण गर्ने उनको भनाई थियो ।