धरान: प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य समितिले कोभिड १९ सम्बन्धी अनुगमन गर्न गठन गरेको उपसमितिले प्रदेश १ मा अनुगमन तथा सरोकारवालाहरुसँग छलफल गरेको छ ।
प्रदेश सरकार, स्थानीय तहसँगको छलफल र अस्पतालहरुको अनुगमन पश्चात टोली आज(शुक्रबारं) नै प्रदेश २ तर्फ गएको छ । उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठ, सदस्यद्धय इकबाल मियाँ र नमिता चौधरीको टोली प्रदेश १ मा अनुगमन गर्न आएको थियो । संयोजक श्रेष्ठले प्रदेश १ को कोरोना संक्रमितको तथ्यांक एवं दैनिक संक्रमितको दर हेर्दा जेखिम बढ्दै गएको पाइएको बताए । उनले प्रदेश सरकार र स्थानीय तहहरु होसियार रहन पनि सुझाव दिए । ‘संक्रमितको आँकडा कम देखिए पनि दैनिकरुपमा आइरहेको तथ्यांकले जोखिम बढ्दै गएकोले होसियार हुनुपर्ने अवस्था छ,’संयोजक श्रेष्ठले क्लिक धरानसँग भने,‘संक्रमणको जुन सम्भावित जोखिमका पक्षहरु देखा परिरहेको छ, त्यसलाई थप व्यवस्थित गर्नुपर्ने, क्षमता बढाउनुपर्ने देखियो ।’
संयोजक श्रेष्ठले प्रदेश सरकारले संघीय र स्थानीय सरकारबीच गरिरहेको समन्वय र सहकार्य प्रसंशालायक रहेको पनि बताए । साथै, उनले प्रदेश सरकारले अर्को हप्तादेखि मोरंग, झापा र सुनसरीका सरकारी शिक्षकहरुलाई जनचेतनाको अभियानमा पठाउने तयारी गरेको र यो अन्य प्रदेशको लागि अनुकरणीय भएको पनि टिप्पणी गरे । संयोजक श्रेष्ठसहितको टोलीले बिहिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रमुख सचिव, मन्त्रालयका सचिवसँग प्रदेशमा कोभिडको सन्दर्भका भइरहेको काम, कोभिडको स्थिति, प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयलगायतमा छलफल गरेको थियो ।
यस्तै, विराटनगर महानगरपालिकाका मेयर, कोभिडमा कार्यरत कर्मचारीहरुसँग पनि छलफल गरेको थियो भने टोलीले कोशी अस्पताल, कोशी कोडिभ अस्पताल, होल्डिंग सेन्टर र प्रदेश ल्याबको पनि निरीक्षण गरेको थियो । यस्तै, आज शुक्रबार नोबेल हस्पिटल अनुगमन पश्चात धरान उपमहानगरपालिकामा छलफल गरेको थियो । त्यसपछि टोलीले वीपी प्रतिष्ठानका पदाधिकारीहरुसँग भेट गर्नुका साथै कोभिड अस्पतालको निरीक्षण गरेको थियो ।
नोबेलमा स्वास्थ्यको प्रोटोकल उल्लंघन
टोलीले शुक्रबार विराटनगरको नोबेल हस्पिटलमा पनि अनुगमन गरेको थियो । त्यहाँ स्थानीय तह र प्रदेश सरकारसँग समन्वय नहुन नसकेको मात्र होइन, स्वास्थ्य प्रोटोकल फलो नगरेको अवस्था देखिएको संयोजक श्रेष्ठले बताए । ‘नोबेलमा ठुलो भिड पनि देख्यौं । कोभिड छ भन्ने अनुभूति भएको देखिएन, प्रोटोकल फलो गरेको पनि देखिएन,’उनले भने,‘भिडलाई व्यवस्थित गर्ने स्वयमसेवक पनि थिएनन्, अहिलेको अवस्थामा यो चिन्ताको बिषय हो ।’ नोबेलकै पिसिआर ल्याबमा ३७० को स्वाब परिक्षण गर्दा ५० जना पोजेटिभ आएको तथ्यांक पनि पाइएको उनले बताए ।
स्थानीय तहको काम 'राम्रो'
उपसमितिले अनुगमनको क्रममा स्थानीय तहसँग पनि कोभिड सम्बन्धी भइरहेको कार्यकोबारेमा छलफल गर्नुको साथै जानकारी लिएको थियो । त्यसक्रममा विराटनगर महानगरपालिका र धरान उपमहानगरमा टोलीले जनप्रतिनिधि र कोभिडमा खटिएका कर्मचारीहरुसँग भेट गरेको थियो ।
संयोजक श्रेष्ठका अनुसार कोभिडको सन्दर्भमा विराटनगर र धरानले नियन्त्रण, रोकथाम र उपचारको कार्य राम्रो गरेको पाइएको बताए । ‘स्थानीय तहतर्फबाट राम्रो काम भइरहेको छ । उहाँहरुबीचमा प्रदेश सरकारसँग राम्रो समन्वय भइरहेको अवस्था पायौं,’संयोजक श्रेष्ठले भने ।