धरान: धरानमा थप ६१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा २५ जना महिला र ३६ जना पुरुष रहेका छन् ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरिएका मध्ये १९ जनालाई संक्रमण पुष्टि भएको छ भने बिहिबार एन्फा एकेडेमी क्वारेन्टिनमा लिएकाहरुमा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । शुक्रबार राती आएको रिपोर्ट अनुसार पोेजेटिभ आएकाहरुमा उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधिहरु पनि छन् ।

यस्तै, धरान २ का वडा सदस्य र वडा १२ का वडा सदस्यलाई पनि संक्रमण देखिएको छ भने स्वाब संलकन गर्ने एक स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ । ‘कुल ६१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यसमा उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधि पनि छन्,’मेहताले भने,‘विस्तृतमा विवरण तयार गर्न र कन्ट्याक ट्रेसिङ गर्न बाँकी नै छ ।’