धरान: वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान उपकुलपति कार्यालय र सँगैको रेक्टर कार्यालय पनि सिल गरिएको छ ।
कार्यालयका फोरम्यानमा कोरोना संक्रमण पुष्टि भएपछि उपकुलपतिको कार्यालयलाई अर्को सूचना जारी नभएसम्मको लागि सिल गरिएको हो । उपकुलपति कार्यालयको भवनमै रेक्टर कार्यालय पनि छ । उपकुलपति र रेक्टर कार्यालयको प्रवेशद्धार एकै हो । उपकुलपति कार्यालयका फोरम्यानलाई हिजो शुक्रबार रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार पनि उनी काममा आएका थिए । उनलाई केहीदेखि नै हल्का जीउ दुख्ने र खोकी लाग्ने समस्या देखिएको थियो । उनले बिहिबार स्वाब दिएका थिए ।
बिहिबार नै आन्दोलनरत चिकित्सकहरुसँग उपकुलपति कार्यालयमा पदाधिकारीहरुको वार्ता भएको थियो । वार्तामा उनले नै चिया, खाजा विरतण गरेका थिए । संक्रमित कर्मचारीलाई शुक्रबार नै प्रतिष्ठानको आइसोलेसनमा पठाइएको छ । उनलाई संक्रमण देखिएपछि उपकुलपति कार्यालयसँगै रहेको रेक्टर र उपकुलपतिको कार्यालयमा कार्यरत सबै कर्मचारीको स्वाब संकलन गरिने उपकुलपतिको सचिवालयले जानकारी दिएको छ । कार्यालय सिल अवधिमा उपकुलपति र रेक्टर क्वारेन्टिनमा बसेर आफ्नै निवासबाट नियमित काम गर्ने उपकुलपतिका प्रशासनिक सल्लाहकार दिलिप भट्टराईले जानकारी दिए ।