धरान: प्रदेश राजधानी र नामको बिषयमा प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तोडफोड भएको छ ।

प्रदेश सरकारले राजधानी दाङ सार्ने प्रस्ताव प्रदेश सभा बैठकमा प्रस्तुत गर्ने क्रममा संसदभित्र तोडफोड भएको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको विरोध भइरहदा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नाम र राजधानीको प्रस्ताव प्रदेशसभा बैठकमा प्रस्तुत गरेका थिए । कांग्रेस सांसदहरुले उभिएर नाराबाजी गरिरहदा बैठक निरन्तर हुने भएपछि एक्कासी प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड भएको थियो ।

प्रदेशसभा बैठकमा आज नाम र राजधानी टुंगो लगाउने कार्यसूची रहेको छ। प्रदेश सरकारले प्रदेश राजधानी बुटवलबाट दाङ सार्ने प्रस्ताव गरेको छ भने प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केसीले विरोध र तोडफोडको बीचमा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरिसकेका छन् । त्यसअघि उनलाई रोस्टमतर्फ गइरहदा उनको साथबाट प्रस्ताव खोस्ने प्रयास पनि भएको थियो । प्रदेश नं ५ को छैटौं अधिवेशनको अहिले ३० औं बैठक चलिरहेको छ ।