धरान:सत्याग्रही डा.गोविन्द केसीको माग बारे सरकारले वार्ता टोली गठन गरेको भन्दै जुनियर रेसिडेन्टहरु नियमित काममा फर्किएका छन् ।

हिजोदेखि बिहान ९ बजेदेखि ११ बजेसम्म ओपिडी बहिष्कार गरेर धर्नामा बसेका रेसिडेन्टहरु आजदेखि भने नियमित काममा फर्कने भएका छन् । तर, डा. केसीको माग पुरा नभएसम्म कालोपट्टी बाँधेर सेवा गर्ने भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, न्याम्स काठमाण्डौं र त्रिवि शिक्षण अस्पताल महाराजगंजका जुनियर रेसिडेन्टहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आजदेखि नियमित काममा फर्किने जानकारी दिएका हुन् ।

कोभिडको बिषम परिस्थितिमा विरामीको सेवा गर्नु नै धर्म र नैतिक जिम्मेवारी भएकोले डा.केसीले अनसन गरुञ्जेल आवासिय चिकित्सकहरुले कालोपट्टी बाँधेर सेवामा संलग्न हुने पनि उनीहरुले बताएका छन् । 'हामी आजदेखि नियमित काममा नै फकिएका छौं,'वीपी प्रतिष्ठानस्थित रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले भने । प्रतिष्ठानमा आजदेखि जुनियर रेसिडेन्टहरुले पनि रिले अनसन बस्ने घोषणा गरेका थिए, तर तत्कालको लागि यो कार्यक्रम पनि रोकिएको छ ।

डा.केसी १९ औं पटक आमरण अनसनमा छन् । उनको अवस्था चिन्ताजनक बनेपछि आवासिय चिकित्सकहरुसँगै नेपाल मेडिकल एशोसिएसन पनि आन्दोलनमा उत्रिएको थियो । सरकारले डा.केससँग वार्ता गठन टोली गठन गरेको छ, र हिजोदेखि नियमित वार्ता भइरहेको छ ।

jr-notice