धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट बाहिर सञ्चालनमा रहेको औषधी पसलमा विरामीको लागि प्रयोग भएको भन्दा बढी औषधीको विल बनाएर ठगी गर्ने धन्दा रोकिएको छैन ।

डिस्चार्ज हुने बेला पैसा तिर्ने सर्तमा विरामीका आफन्तले औषधी लैजाने र पछि मेडिकलहरुले बढी बिल बनाएर ठगी गर्ने चलन छ । वीपी गेट बाहिर धरान १८ स्थित विर्तामोड मेडिकल हलले यसै गरि ठगी गरेको भन्दै प्रशासनमा उजुरीसमेत परेको छ। धरान १६ की १७ बर्षीया एक किसोरीको मुटुको उपचारको क्रममा उक्त मेडिकलबाट औषधी लगेका थिए । अहिले ती किसोरीकी आमालाई मेडिकलले विल थमाएको छ । शंका लागेर किसोरीकी आमा रिता राना मगरले वीपी प्रतिष्ठानको औषधी प्रशासनबाट रेकर्ड मगाउदा प्रयोग गरेको भन्दा कयौं बढी औषधीको बिल बनाएको पाएपछि इलाका प्रशासन कार्यालयमा निवदेन दिएकी छिन् ।

मेडिकलले वास्तविक भन्दा बढी विल बनाएको पाएपछि मगरले आज इलाका प्रशासन कार्यालय धरानमा आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । निवेदक मगरका अनुसार प्रतिष्ठानले उपलब्ध गराएको रेकर्ड अनुसार टार्गोसिट ४०० एमजीको ४ थान र २०० एमजीको ४ थान मात्र छोरीको उपचारमा प्रयोग गरिएको छ । तर, मेडिकलले दिएको बिलमा भने ४०० एमजीको १० थान र २०० एमजीको ५ थानको बिल बनाइएको छ । यो औषधी ४०० एमजीको प्रतिगोटा ३,५२९ र २०० एमजीको १५८४ रुपैया प्रतिगोटाको बिल छ । यो बिल अनुसार तार्गोसिट औषधीमा मात्र मेडिकलले १९ हजार २२९ रुपैया बढी लिन खोजेको देखिन्छ ।

drugs2

निवेदक मगरका अनुसार एक कार्टुन पानीको बिल पनि ३६० रुपैया लिइएको छ । जबकी प्रतिगोटा २० रुपैयाको दरले पनि १ कार्टुन मिनरलको २४० रुपैया मात्र पर्ने हुन्छ । ‘मैले त महंगो पर्ने औषधीको मात्र खोजेको छुँ, प्रत्येक औषधीको यसरी नै हेर्ने हो भने अझै धेरै होला,’उनले भनिन् । उपचाररत विरामीलाई औषधी चाहिदा डाक्टर वा नर्सले वीपी प्रतिष्ठानको स्लिपमा औषधीको नाम र संख्या लेखिदिने गरेको हुन्छ । मेडिकलले उक्त स्लिपमा भएको संख्यालाई पनि केरमेट गरेर बढाएको प्रष्ट देखिन्छ । ‘औषधीको स्लिपमा केरमेट गरेर १ लाई ३ जस्तो बनाएको छ,’उनले भनिन् ।

निवेदक मगरकी छोरीको पछि काठमाण्डौंस्थित गंगालाल मुटुरोग अस्पतालमा ओपन हर्ट सर्जरी भएको थियो । वीपीमा कोरोनाले अप्रेसन थिएटर सिल भएपछि डाक्टरकै सल्लाह वमोजिम छोरीलाई काठमाण्डौं लगेको उनले बताइन् । इलाका प्रशासन कार्यालय धरानका निमित्त कार्यालय प्रमुख विदुर गौतमले निवेदनको व्यवहोरा अनुसार भए नभएको भोली(सोमबार) स्थलगतरुपमा गएर बुझ्ने र सर्वमिन मुचुल्का बनाएर जिल्ला प्रशासन कार्यालयमा पठाउने बताए । ‘ठगी भएको हो भने जिल्ला प्रशासनले नै हेर्छ, कारबाही गर्छ,’उनले भने,‘भोली के भएको हो, निवेदनको व्यवहोरा अनुसार हो होइन भनेर स्थलगतरुपमा बुझ्छौं, र प्रतिवेदन पठाउछौं ।’

यता, मेडिकल सञ्चालक नरेन्द्र देवले भने वीपी प्रतिष्ठानको स्लिप अनुसारकै औषधी पठाएको र कुनै ठगी नभएको दाबी गरे । ‘ड्रग स्लिप अनुसार नै औषधी गएको छ, र बिल पनि त्यसैअनुसार बनेको छ,’उनले भने,‘कति औषधी फोनबाट पनि मगाएर हामीले लगिदिएको हो । डिस्चार्ज पेपरमा भएको, स्लिपमा भएको अनुसार बिल मिलेकै छ ।’

drugs 2 drugs1