विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता रोकथाम तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले तीनवटा मोडालिटीमा काम गरिरहेको बताएका छन् ।
उनले अपाङ्गता भएका व्यक्ति जन्मनै नदिने, जन्मिए स्वास्थ्य अवस्था पहिचान गर्ने र व्यवस्थापन गर्ने मोडालिटीबाट काम शुरु गरिएको बताए । अपाङ्गताको दर घटाउने गरि स्थानीय तहमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको आज अनलाईन मार्फत गरिएको बार्षिक समीक्षा कार्यक्रममा मन्त्री घिमिरेले यस्तो बताएका हुन् । उनले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको परिणाम आउन थालेपछि घर–घरमा खुशी छाउने दाबी गरे । ‘घर, समाज र प्रदेशमा खुशी छाउने छ,’उनले भने ।
अपांगता भएका व्यक्तिहरु जन्मनै नदिने, अहिले अपाङ्गता भएका व्यक्तिको पुर्नस्थापना गरि जीवन शैलीलाई सहज बनाईने उनले बताए । स्थानीय पालिका र साँझेदार संस्थाहरुसँग मिलेर काम भईरहेको मन्त्री घिमिरेले बताए । प्रदेश १ सरकारले चालु आर्थिक बर्ष सम्ममा ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा २७ वटा स्थानीय तहबाट कार्यक्रम शुरु भएको थियो । मातृशिशु तथा बाल स्वास्थ्य र पोषण सेवामा सबै समूहको पहुँच तथा उपभोग बृद्धि गर्ने, अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने र सम्बन्धित स्थानीय तहका सेवा प्रदायक संस्थाहरुको सुदृढीकरणमा सहयोग गर्ने उद्देश्य सहित सामाजिक विकास मन्त्रालयले करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको छ ।
प्रदेश १ मा २० प्रतिशतले जन्मदोष दर र ४० प्रतिशतले जन्मपश्चात हुने अपाङ्गताको दर घट्ने दीर्घकालिन परिणाम सहित कार्यक्रम शुरु गरिएको करुणा फाउण्डेसन नेपालका सहनिर्देशक योगेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार मातृमृत्यु दर प्रति लाख जिवित जन्ममा २३९ बाट ९९ र नवजात शिशु मृत्यु दर प्रति हजार जिवित जन्ममा २१ बाट १४ हुनेछ । कार्यक्रम संचालन गर्ने सबै स्थानीय तहले प्रदेश सरकारको सहयोगमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमलाई निरन्तरता दिने बताईएको छ । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले बोलेका थिए ।