धरान: बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका भेन्टिलेटरहरु ३ महिना पनि नपुग्दै बिग्रिए पछि भ्रष्टचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
संघीय र प्रदेश सरकारको बजेटबाट करोडौं खर्चिएर तयार गरेको कोभिड अस्पताल शुरुवातदेखि नै विवादमा परेको थियो । कोभिड अस्पतालको औषधी, मेशिन तथा उपकरणहरु खरिदमा व्यापारीसँगको मिलेमतो गरेर अनियमितता भएको आरोप छ । उपकुलपति डा.ज्ञानेन्द्र गिरी र उनको सल्लाहकार भनिएका स्वकिय सचिव दिलिप भट्टराई कोभिड अस्पताल शुरु भएदेखि नै फितलो व्यवस्थापन र आर्थिक अनियमिततामा मुछिदै आएका छन् ।
नयाँ भेन्टिलेटरहरु ३ महिनामै बिग्रिए पछि नक्कली सामानहरु जडान गरेर व्यापक अनियमितता गरेको आशंका छ । विभिन्न सञ्चारमाध्यमहरुमा अनियमितताबारे समाचार प्रकाशन भएको र व्यापक जनगुनासोसहित उजुरी पनि आएपछि अख्तियारले छानबिन थालेको हो । मुख्यमन्त्री शेरधन राई ल्याएर उद्घाटन गरेको यो अस्पताल झण्डै ४ महिनासम्म पनि सञ्चालनमा आउन सकेन । चौतर्फी आलोचना र दबाब भएपछि उद्घाटन भएको ४ महिना पछि सञ्चालन भएको कोभिड अस्पतालको नयाँ भेन्टिलेटरहरु ३ महिना पनि नपुग्दै बिग्रिएको छ ।
कोभिड अस्पतालको छानबिन तथा आवश्यक जानकारी लिन हिजो सोमबार इटहरीस्थित अख्तियार कार्यालयबाट ४ जना अधिकारीहरु प्रतिष्ठान आएका थिए । अख्त्यिार टोलीले अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहसँग कोभिड अस्पताल र भेन्टिलेटरको खरिदबारे आवश्यक जानकारी लिएको थियो । अस्पताल निर्देशक डा.साहले अख्तियार टोली आएको र कागजपत्र मागेको बारे पुष्टि गरे । उनले भने,‘अख्तियारबाट ४ जना आउनु भएको थियो । मसँग छलफल गरेर कागजपत्र माग गर्नुभएको छ ।’
सबैको ध्यान कोभिडको महामारी रोकथाम र नियन्त्रणमा केन्द्रीत भएको बेला प्रतिष्ठानको उपकुलपित र उनको सचिवालय भने औषधी र विभिन्न सामग्री खरिदमा व्यापारीसँग मिलेमतो र कमाउ धन्दामा ब्यस्त भएको आरोप लाग्दै आएको छ । यसअघि नै प्रक्रिया मिचेर मिलेमतोमा खरिद गरिएको औषधी, उपकरणलाई सदर गर्न दबाब दिएपछि कोभिड अस्पताल प्रमुखले राजिनामा दिएकी थिइन् भने खरिद शाखा प्रमुख तथा मुल्यांकन समितिका सदस्य सचिवको पनि ४ महिना नपुग्दै सरुवा गरिएको थियो । धरानका एक ग्रिल उद्योगीले उपकुलपतिका स्वकिय सचिव भट्टराईले खाली बिल मागेर लगेको र ४ गुणा बढी रकम प्रतिष्ठानमा पेश गरेर अनियमितता गरेको आरोपसमेत लगाएका थिए ।