धरान: प्रदेश १ को सुरक्षा गोष्ठी आज भर्चुअल माध्यमबाट भएको छ ।
संघीय सरकार र प्रदेश सरकारको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा गोष्ठी शुरु भएको हो । गोष्ठीलाई प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेका थिए । एकदिने सुरक्षा गोष्ठीमा प्रदेशका १४ वटै जिल्लाका जिल्ला सुरक्षा समिति, प्रदेशस्थित सुरक्षा निकायका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको छ ।
गोष्ठीमा चाडपर्व लक्षित सुरक्षा योजना, कोभिड महामारी व्यवस्थापनसहित जिल्लाको सामान्य बस्तुस्थिती, जिल्लास्थित सुरक्षा निकाय र तिनका ईकाईहरुको भुमिका तथा जिल्लाको समग्र सेवा प्रवाहको स्थितीमा छलफल हुने बताइएको छ । यस्तै, प्रदेश सरकारका निर्देशन कार्यान्वयनको अवस्था, म अघि बढ्छु कार्यक्रमको कार्यान्वयन तथा आगामी दिनकालागी सुझाव, शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि स्थानिय सरकार संगको समन्वयबारे पनि वृहत छलफल हुनेछ ।
यस्तै, बिपद पुर्व तयारी, लागूऔषध दुर्ब्यसन, सडक दुर्घटना न्युनिकरण, महिला हिंसा, बलात्कार लगायतका सामाजिक अपराध, कोभिड १९ को महामारी ब्यवस्थापनका लागि क्वारेन्टाइन, आईशोलेशन, होल्डिङ एरियाको ब्यवस्थापन तथा चार्डबाड लक्षित सुरक्षा योजनाबारे छलफल हुने बताइएको छ ।गोष्ठीको समापन गृहमन्त्री रामबहादुर थापाको विषेश सम्बोधन हुनेछ भने गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान बिभाग का प्रमुखहरुले समेत भनाई राख्नेछन् ।