धरान: औषधी व्यवस्था विभाग विराटनगरको टोली आज दिउँसो अकास्मत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेटबाहिर अनुगमनमा पुग्यो ।
टोलीले अनुगमन शुरु गरेको खबर मेडिकलहरुमा डढेलोसरि फैलियो । अनुगमन आएको सुइको पाउनेबित्तिकै मेडिकलवालहरु भागाभाग भए । विभागका अनुसार अनुगमन शुरु भएको थाह पाएपछि १७ वटा मेडिकलहरु बन्द भएर फरार भए । विभागका प्रमुख सञ्जिव कट्टेलका अनुसार धरानको वीपी गेट बाहिरको मेडिकलहरुमा धेरै विकृति भएको गुनासो आएकोले अनुगमन गरिएको बताए । अनुगमनमा आएको थाह पाएपछि पसल बन्द गरेका मेडिकलहरुलाई इलाका प्रहरी कार्यालयमार्फत विभागमा उपस्थित गराउन पत्राचार गर्ने उनले बताए । ‘इलाका प्रहरी कार्यालयमा पत्राचार गरेर निजहरुलाई विभागमा उपस्थित गराउन भन्छौं,’ उनले भने ।
अनुगमन गरिएका पसलहरुमध्ये ६ वटालाई सिल गरिएको पनि विभागले जनाएको छ । कट्टेलका अनुसार सिल गरिएका मेडिकलहरुमा अधिकांश लाइसेन्स प्राप्त भएका सम्बन्धित व्यक्ति बसेका थिएनन् । मेडिकल पसलमा फार्मेसी पढेर लाइसेन्स प्राप्त गरेका व्यक्ति बसेर मात्र औषधी बेच्न पाउछन् । सिल गरिएका पसलहरुलाई ५ दिनभित्र उपस्थित गराउने र वयान लिने बताए । ‘सम्बन्धित लाइसेन्स प्राप्त व्यक्ति किन पसलमा नबसेको हो । वयान लिन्छौं । ती व्यक्ति अन्य ठाउँमा फुल टाइम काम गरेको छ भने निकाल्न भन्छौं, पटके छ भने कारबाहीको लागि औषधी ऐन अनुसार अभियोग पत्र दायर गछौं,’उनले भने ।
कुन कुन मेडिकलमा भयो सिल ?
विभागका अनुसार प्रनित फार्मेसी, पञ्चमुखी फार्मेमी, नमस्कार फार्मेसी, फ्रेन्डस् फार्मेसी र जनता फार्मेसीमा ताला लगाइएको छ । लाइसेन्स प्राप्त व्यक्ति पसलमा नभेटिएकोले ती मेडिकललाई सिल गरिएको विभागका प्रमुख कट्टेलको भनाई छ । अर्को, बुढाथोकी मेडिकलले भने विरामीसँग औषधीको पैसा बढी लिएको गुनासो आएकोले बन्द गराएको र बिलसहित उपस्थित हुन निर्देशन दिइएको उनले बताए ।
कुन कुन मेडिकल भागे ?
विभागका अनुसार अनुगमन शुरु भएलगत्तै मेडिकलहरु बन्द गर्दै भाग्नेहरु १७ जना छन् । ती मेडिकलहरुको पनि लिष्ट तयार गरेर विभागले लगेको छ । विभागको सुची अनुसार बन्द गरेर भाग्ने मेडिकलहरुमा सँस्कृति फार्मेसी, जमुना फार्मेसी, जनसेवक मेडिको, पुर्णिमा मेडिकल हल, हार्दिक फार्मेसी, बबिता मेडिकल, साहारा मेडिकल, मारुती मेडिकल, सुविधा फार्मेसी, गार्जिन फर्मा रहे्को छ ।
यस्तै, माही मेडिकल हल, सुप्रिया फार्मेसी, सेलिजा फार्मेसी, सुनकोशी फार्मेसी, सागर औषधी पसल, दिक्षा मेडिकल र प्रियंका मेडिकल हल रहेको छ । अनुगमन अघि खुला रहेका ती मेडिकलहरु अनुमगन आएको थाह पाएपछि बन्द गरेर भागेका थिए । अनुगमन टोली फर्किए पछि भने खुला भएको थियो ।
भिडियो: