धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्टाफ नर्स पदपुर्तिको लागि लिएको अन्तर्वार्ताको नतिजा प्रकाशन नगरि रद्द गरेको छ ।
प्रतिष्ठानले हिजो बिहिबार एक सुचना प्रकाशन गरेर स्टाफ नर्सको लागि लिएको अन्तर्वार्ता रद्द भएको जनाएको छ । प्रतिष्ठानले भदौ ४ गतेदेखि २२ गतेसम्म स्टाफ नर्सको लागि आवेदन दिएकाहरुको अन्तर्वार्ता लिएको थियो । सोही क्रममा लिखित परिक्षा नलिएको भन्दै आलोचना भएको थियो भने नेकपाले स्टाफ नर्समा १९ जनाको नाम सिफरिश गरेको लिष्ट मिडियामार्फत सार्वजनिक भएपछि विवाद उत्पन्न भएर प्रतिष्ठानले अन्तर्वार्ताको नतिजा प्रकाशन गर्न सकेको थिएन । अन्ततः झण्डै डेढ महिनापछि प्रतिष्ठानले अन्तर्वार्ता नै रद्द गरेको छ ।
अन्तर्वार्ता रद्द गरेको प्रतिष्ठानले ७५ जना स्टाफ नर्स भर्ति गर्ने पनि जनाएको छ । यसकोलागि प्रतिष्ठानले ७ दिनभित्र प्रतिष्ठानमा दरखास्त बुझाउन पनि आह्वान गरेको छ । करार सेवा ६ महिनाको लागि प्रतिष्ठानले स्टाफ नर्सहरु पदपूर्ति गर्न लागेको हो । यसको लागि लिखित र अन्तर्वार्ता दुवै तरिकाले छनौट गरिने प्रतिष्ठानले जनाएको छ । ‘यसअघि लिएको अन्तर्वार्ता विविध कारणले रद्द गर्नुपर्यो, हामीले हिजो नै सुचना निकालिसक्यौं,’प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले भने,‘अब लिखित र अन्तर्वार्ता दुवै किसिमबाट परदर्शिरुपमा लिन्छौं ।’
प्रतिष्ठानले कोभिड अस्पताललाई लक्षित गरेर स्टाफ नर्सको पदपूर्ति प्रक्रिया अघि बढाएको थियो । यसअघि ५० जना लिने प्रतिष्ठानको योजना विवादित बनेको थियो । त्यसबेला पनि करिब ५ सयको हाराहारीमा आवेदन परेको थियो । राजनीतिक भागवण्डामा लिखित परीक्षा नलिइ अन्तर्वार्ता मात्र लिएको भन्दै प्रतिष्ठानको आलोचना भएको थियो । पर्याप्त जनशक्ति अभावमा कोभिडका विरामीहरुले राम्रो उपचार नपाएको गुनासो आइरहेका छन् । भएका जनशक्तिहरु पनि संक्रमणको कारण आइसोलेसन र क्वारेन्टिनमा बस्नु परेको छ ।