धरान: पेट असाध्यै दुखेपछि इटहरीका सञ्चारकर्मी कृष्ण भट्टराई बिहिबार हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन ओपिडीमा जचाउन आए । ओपिडीमा चिकित्सकले आवश्यक जाँच पछि भिडियो एक्स रे गरेर मात्र औषधी प्रेस्काइब गर्ने सुझाए ।
चिकित्सकको सुझाव पछि भट्टराई भिडियो एक्स रे गर्न गए । त्यहाँ पुग्दा भने उनी थप पीडामा परे । रेडियोलोजी विभागबाट उनलाई झण्डै एक महिना पछिको मात्र भिडियो एक्स रे गर्ने मिति दिइयो । उनी त्यतिकै घर फर्किए । ‘मलाई मंसिर ११ गते बिहान ९ बजे खाली पेटमा उपस्थित हुनु भनेर लेखिदिए,’भट्टराईले भने,‘विरामी असाध्यै पेट दुःखेर हिड्न नसक्ने अवस्थामा छ, एक महिनासम्म कसरी पर्खनु ?’ विरामी भट्टराईले त्यतिबेलासम्म कुर्न गाह्रो हुने बताइरहदा कर्मचारीले गैरजिम्मेवार जवाफ दिएका थिए । ‘त्यो हामी जान्दैनौं भने,’भट्टराई भन्छन् ।