धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिडको उपचार सेवा विस्तारको काम भइरहेको जनाएको छ ।
कोभिड अस्पतालको बेथितीबारे चौतर्फी विरोधसँगै नागरिक समाजबाट वीपी प्रतिष्ठान सुधार दबाब समुह गठन भएपछि आज प्रतिष्ठानको सुचना तथा सञ्चार केन्द्रले प्रेस विज्ञप्ती जारी गर्दै कोभिड विरामीको चापलाई मध्यनजर गर्दै उपचार सेवा विस्तार भइरहेको जनाएको हो । प्रतिष्ठानका अनुसार कोभिड अस्पतालमा २५ वटा हाई डिपेडेन्सी युनिट(एचडियु) विस्तार गर्ने तयारी भइरहेको छ । यसैगरि, १० वटा थप भेन्टिलेटर जडान गर्ने पनि प्रतिष्ठानको दाबी छ । साथै, थप १० वटा नन इन्भेसिभ भेन्टिलेटर(एनआईभि) र ८ थान हाई फ्लो नजल क्यानुला(एमएफएनसि) पनि जडान गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार कोभिड अस्पतालको हरेक बेडमा अक्सिजन पोर्ट जडान कार्य भइरहेको छ भने अबको २ दिनभित्र जडान कार्य सम्पन्न हुने पनि दाबी गरिएको छ । यसैगरि, अक्सिजन पोर्टसहित थप ४० बेड क्षमता विस्तार गरिने पनि विज्ञप्तीमा जानकारी दिइएको छ । प्रतिष्ठानको कोभिड ल्याबमा हालसम्म ६३ हजार बढीको स्वाब परीक्षण गरिएको र कोभिड अस्पताल सञ्चालन आएपछि प्रदेश १ र अन्यत्रको गरि १ हजार भन्दा बढी कोरोना संक्रमितलाई भर्ना गरेर उपचार गरिसकेको पनि प्रतिष्ठानले दाबी गरेको छ ।