धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिती अन्त्यको माग गर्दै प्रतिष्ठान सुधार दबाब समुहले सुझावसहित अवधारणा पत्र बुझाएको छ ।

आज दिउँसो प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई १८ बुँदे सुझावहरुसहित प्रतिष्ठान बेथिती अन्त्यको लागि दबाब समुहले अवधारणा पत्र बुझाएको हो । दबाब समुहका संयोजक तथा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई सुझावसहितको अवधारणा पत्र बुझाएका थिए । त्यसअघि दबाब समुहका सहसंयोजक प्रा.डा.राजेन्द्र शर्माले अवधारणा पत्र वाचन गरेर सुनाएका थिए ।

दबाब समुहले प्रतिष्ठानमा व्यवस्थापकीय बिशेषज्ञताको खाँचो रहेको औल्याएको छ । भिजन, मिशन, गोल, अब्जेक्टिभ, स्ट्राटेजी र एक्टिभिटीको एउटा चरणवद्ध श्रृंखाला पुरा गर्ने गतिमा प्रतिष्ठानको क्रियाकलापहरु निर्देशित गराउनुपर्नेमा पनि समुहले जोडदिएको छ । यसको लागि स्पष्ट नीति र योजना तर्जुमा गर्नुपर्ने आवश्यकता रहेका पनि समुहले जनाएको छ । समुहले सुझावकोरुपमा १८ बुँदा प्रस्तुत गर्दै सिनेटर संयोजक रहेको अधिकार सम्पन्न एक अनुगमन समिति गठन गर्न सुझाव दिएको छ । यस्तै, एक्सन प्लान तयार गर्न बिशेषज्ञ सहितको समुह गठन गर्न, सामाजिक लेखा परिक्षण गर्न, पिसिआर परिक्षण २४ सै घण्टा चालु गर्न, कोभिड अस्पताल भित्रका व्यवस्था तुरुन्त निराकरण गरि सिसि क्यामेरा र गेटमा मनिटर राख्नलगायत सुझावहरु पनि दिएको छ ।

bp-dabab, 1

दबाब समुहका सहसंयोजक डा.शर्माले प्रतिष्ठानका पदाधिकारीहरुबीचमा हुने बेमेलले अख्तियारमा निवेदन पुग्ने र खरिद प्रक्रियाहरु बीचैमा अवरुद्ध हुने खालको विकृतिहरु अन्त्य हुनुपर्ने बताए । महामारीको बीचमा सय बेडको कोभिड अस्पताल स्थापना भएपनि अस्पताल भित्रको हालतबारे निको भएर जाने संक्रमित, मृत्यु भएका संक्रमितका आफन्तहरुबाट धेरै गुनासोहरु सुनिएको उनको भनाई थियो । ‘वीपी प्रतिष्ठानमा अराजकता छ, चरम राजनीति छ, भ्रष्टचार छ भन्ने व्यापक चर्चा भइरहदा सचेत धरानेहरु सुत्न सक्दैनौं, निदाउन सक्दैनौं । हामी जुर्मुराउन स्वभाविक हो,’डा.शर्माले भने,‘हाम्रो यो आवाजलाई विरोधको स्वरकोरुपमा नभएर सुझाकोरुपमा आएको आवाज हो भनेर बुझिदिनु हुनेछ ।’

bp-dabab2

दबाब समुहका संयोजकसमेत रहेका सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले एक सातापछि अवधारणा पत्रमा उल्लेख भएका बिषयहरुमा सुधार भए नभएको बारे पुनः छलफल गर्न आउने बताए । उनले कोभिड अस्पतालमा राम्रो हेरचाह नभएको, खाना राम्रो नदिएको गुनासोहरु सुनिएको बताए । ‘एक साता पछि तपाईहरुसँग छलफलमा आउदा बजारमा सुनिएको जस्तो हल्ला निराकरण हुनेछ, वीपीको बारेमा सकरात्मक सुन्न पाइनेछ । चारै जना मिलेर अघि बढ्नु हुनेछ भन्नेमा आशावादी छौं,’सापकोटाले भने,‘कोभिड अस्पतालकोबारे धेरै कुराहरु सुनिएको छ । अब सिसि क्यामेरा राखेर बाहिर विरामीको आफन्त स्क्रिनमा हेर्ने व्यवस्था हुनुपर्छ । हरेक बेडमा बेल राखिदिनुपर्छ, समस्या भएपछि उहाँहरुले बेल बजाउने व्यवस्था हुनुपर्छ । बेल बजाउदा डाक्टरहरु तत्काल जानुहुन्छ । एक हप्तामा सकरात्मक सुधार पाउछौं भन्ने आशा छ ।’

भिडियो-