धरान: कोभिड अस्पताल र उपचारको बेथितिहरु सुधार भए नभएको बारेमा सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग आवश्यक जानकारी लिएका छन् ।
प्रतिष्ठानका पदाधिकारीले विगतमा गरेको प्रतिवद्धता अनुसार कोभिड अस्पताल र उपचारमा भएको सुधारबारे जानकारी लिन सुरक्षा प्रमुखहरुसहित सुनसरीका सिडिओ आज दिउँसो प्रतिष्ठान आएका थिए । विगतमा उठेका बिषय तथा जनगुनासोबारे बुझ्न प्रतिष्ठान आएको प्रजिअ फडिन्द्रमणी पोखरेलले बताए । ‘पहिला उठाएको बिषयहरु के भयो ? के गर्दै हुनुहुन्छ भनेर बुझ्न, आवश्यक जानकारी लिन आएका हौं,’प्रजिअ पोखरेलले भने ।
प्रजिअ पोखरेलका अनुसार प्रतिष्ठानको क्वार्टरमा बसेका अनावश्यक व्यक्तिहरुलाई निकाल्न पनि निर्देशन दिइएको छ । पदाधिकारीहरुले अनावश्यक व्यक्तिहरुलाई निकाल्न प्रक्रिया शुरु भइसकेको जवाफ दिएको पनि उनले बताए । ‘कोभिडको बेला अनावश्यक मान्छेहरु भित्र बसेका रहेछन् । कोही रिटायर्ड भए पनि छोराछोरीहरु बस्ने, कोही भ्रष्टचार मुद्दा परेर निलम्बन भए पनि त्यही बस्ने रहेछन्,’सिडियो पोखरेलले भने,‘कोही ठेकेदारका मान्छेहरुलाई कुनै समयमा निर्णय गराएर बस्न दिएको छ रे, त्यस्ता मानिसहरुलाई निकाल्न भनेका छौं, उहाँहरुले प्रक्रिया शुरु भइसक्यो भन्नु भएको छ ।’
प्रजिअ पोखरेलका अनुसार पदाधिकारीहरुले बिग्रिएको भेन्टिलेटर बनिसकेको बताएका छन् भने थप १० वटा भेन्टिलेटर आइरहेको जवाफ दिएका छन् । कोभिडमा सबै बेडमा अक्सिजन पाइप जोड्ने काम भइरहेको र नयाँ प्लान्ट थप्ने कार्य पनि शुरु भएको पदाधिकारीहले जवाफ दिएको प्रजिअ पोखरेलले बताए । ‘तत्काल अस्थायी व्यवस्थाको लागि सिलिण्डरबाटै अक्सिजन दिन्छौं भनेका छन्,’प्रजिअ पोखरेलले भने ।
प्रजिअ पोखरेलसँगै सुनसरीका एसपी कमल थापा, राष्ट्रिय अनुसन्धानका एसपी नगेन्द्र दाहाल प्रतिष्ठान आएका थिए भने उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक डा.गौरीशंकर साह र रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले ब्रिफिङ गरेका थिए । रजिष्ट्रार डा.रेग्मीले विगतका जनगुनासो समाधान गर्न कसरी प्रयास भइरहेको छ, र संक्रमण कम गर्न के भइरहेको छ भन्ने जानकारी लिन आएको बताए । अनधिकृत व्यक्तिहरुको बसोबास खाली गराउने, नियमित कार्यसम्पादन गर्नेलाई प्रोत्साहन र असहयोग गर्नेलाई संक्रमण ऐन अनुसार कारबाही गर्न पनि सुझाव दिएको बताए ।