धरान: समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु नै कोरोना संक्रमण भएर पनि आइसोलेसनमा नबसेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले कानुन वमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

डाक्टर, इञ्जिनियर, कर्मचारी, सामाजिक कार्यकर्तालगायत लब्ध प्रतिष्ठित व्यक्तिहरु नै स्वास्थ्य प्रोटोकलको वेवास्ता गरि सार्वजनिक स्थानमा घुमफिर गर्ने गरेको गुनासो अत्यधिक आएकोले प्रशासनले सुचना जारी गर्नुपरेको जनाएको छ । समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु संक्रामक रोग नियन्त्रणको लागि प्रोटोकल पालना गर्नुपर्नेमा ठिक विपरीत देखिएको प्रशासनको भनाई छ । बिशेष गरि होम आइसोलेसनमा बसेका संक्रमित व्यक्तिहरु प्रोटोकल अनुसार कम्तीमा १४ दिन कतै नगई कोठाभित्रै बस्नुपर्नेमा वेवास्ता गरि बाहिर निस्कने गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले समाजका गन्यमान्य, ठुला भनिएका व्यक्तिहरु नै पोजेटिभ हुँदा हुदै सार्वजनिकस्थलमा हिडडुल गरेको सुचना आएकोले बाध्य भएर कारबाहीको चेतावनी दिनुपरेको हो । ‘ठुलाहरुले जे गरे पनि हुने भन्ने गुनासो आउन थाल्यो, त्यही भएर यस्तो सुचना निकाल्नुपरेको हो,’सहायक प्रजिअ पोखरेलले भने,‘त्यसरी पोजेटिभ व्यक्तिहरु हिडडुल गरेको भेटिएमा ऐनले निर्दिष्ट गरेअनुसार कारबाही हुन्छ, र प्रहरीले आइसोलेसन सेन्टरमा लगेर राख्छ ।’

जिल्ला प्रशासनले स्वास्थ्य प्रोटोकल पालना नगर्ने व्यक्तिहरुको जानकारी नजिकैको प्रहरी कार्यालयमा दिन पनि सर्वसाधारणहरुलाई आह्वान गरेको छ । साथै, त्यस्ता व्यक्तिलाई तत्काल कारबाहीको लागि पेश गर्न पनि जिल्ला प्रहरी कार्यालयमार्फत मातहतका सबै युनिटलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ । cdo-appeal