धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागले हिजो साँझदेखि गर्भवतीहरुलाई भर्ना लिन बन्द गरेको छ ।
गर्भवतीको अप्रेशनको लागि चिकित्सकलाई आवश्यक गाउन र विरामीलाई छोप्न प्रयोग हुने कपडा(ड्रेप) पर्याप्त मात्रामा उपलब्ध नभएको भन्दै विभागले हिजो साँझदेखि नयाँ भर्ना लिन बन्द गरेको हो । अहिले गाइनो इर्मजेन्सीमा आएका गर्भवतीहरुलाई सामान्य स्वास्थ्य जाँच गरेर चिकित्सकहरुले फर्काइरहेका छन् । गाइनो वार्डमा भर्ना नलिए पछि गर्भवतीहरु विचल्ली अवस्थामा छन् । बिहान भर्ना लिन नमान्दा केहीबेर विरामीका आफन्तहरुसँग विवादसमेत भएको गर्भवती बुहारी लिएर आएका देवहाङ राईले बताए । उनले भने,‘विहान विरामीको रुवाबासी जस्तै भयो । केहीबेर झगडा जस्तो नै पर्यो । कसैलाई पनि भर्ना नलिनु भनेको छ भनेर फकाईरहेको छ ।’
गाइनो विभागका एक चिकित्सकका अनुसार अप्रेसनको बेला सर्जनले लगाउने हरियो कपडा र विरामीको लागि प्रयोग हुने कपडा आवश्यकता वमोजिम प्रतिष्ठानको लण्ड्रीबाट आइरहेको छैन । एउटा लण्ड्री बिग्रिएको र अर्को लण्ड्रीमा काम गर्नेहरुलाई कोरोना संक्रमण भएपछि पर्याप्त मात्रामा कपडा आउन नसकेको हो । नर्मल डेलिभरीको पनि कतिबेला अप्रेसन पर्छ भन्ने ग्यारेण्टी नहुने भएकोले तत्कालको लागि सबैलाई भर्ना नलिएको उनको भनाई छ ।
‘सर्जन गाउन, ड्रेपलाई केमिकलले डिस्इन्फेक्ट गरेर, धोएर, स्टेरलाइज गरेर मात्र अर्को विरामीलाई प्रयोग गर्नुपर्छ । लण्ड्रीबाट आवश्यकता अनुसार आउन सकेको छैन,’ती चिकित्सकले भने,‘अप्रेसन गर्न त समस्या छदैछ, नर्मल डेलिभरीलाई पनि कतिबेला अप्रेसन गर्नुपर्ने हुन्छ, टुंगो हुदैन । त्यसैले कसैलाई पनि भर्ना नलिएको हो ।’
प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालले गाइनो विभागबाट समस्याबारे जानकारी पाएको र समस्या समाधानको लागि पहल भइरहेको बताए । अस्पताल निर्देशक डा.गौरीशंकर साहले भने समस्या समाधान भइसकेको दाबी गरे । उनले समस्या समाधान भएको दाबी गरिसकेको बताए पनि गाइनो विभागले भने यो समाचार तयार पारुञ्जेल कसैलाई भर्ना लिएको भने छैन ।