धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एउटा पिसिआर मेशिन जडान भएको छ ।
रोटरी इन्टरन्यासनल डिस्ट्रीक्ट ३२९२ अर्न्तगतका रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रूपमा पिसिआर मेशिन उपलब्ध गराएको हो । रोटरीले ९६ नमुना परीक्षण गर्न सक्ने पिसिआर मेशिन सहयोग स्वरुप उपलब्ध गराएपछि प्रतिष्ठानमा हिजो जडान गरिएको छ। रोटरीले विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई मेशिन हस्तान्तरण गरेको थियो । मेशिन लिन उपकुलपति डा.गिरीसँगै माइक्रोवायोलोजी विभागका डा.नारायण भट्टराई हिजो विराटनगर गएका थिए ।
रोटरीले उपलब्ध गराएको अत्याधुनिक पिसिआर मेशिन प्रतिष्ठानमा ल्याएर जडान गरिसकेको डा.भट्टराईले जानकारी दिए । उनका अनुसार योसहित प्रतिष्ठानको ल्याबमा पिसिआर मेशिनको संख्या ३ वटा पुगेको छ भने १५ सय वटा नमुना परीक्षण क्षमता पुगेको पनि उनले बताए । ‘रोटरी क्लब विराटनगर र रोटरी इन्टरनेशनलले ९६ नमुना परीक्षण गर्नसक्ने अत्याधुनिक पिसिआर मेशिन दिएको हो, मेशिन ल्याएर ल्याबमा जडान गरिसकेका छौं,’डा.भट्टराईले भने,‘अब दिनमा १५ सय नमुना परीक्षण गर्नसक्ने क्षमता भयो ।’
प्रतिष्ठानमो ३ वटा पिसिआर मेशिन बाहेक इर्मजेन्सीमा द्रुत परीक्षण गर्ने जिन एक्स्पर्ट मेशिन पनि रहेको छ । यो मेशिनले ५० मिनेट भित्र नै पिसिआर रिपोर्ट दिने गर्छ । यो मेशिनबाट गम्भीर प्रकृतिका विरामीहरु इर्मजेन्सीमा आउदा तत्काल पिसिआर गर्नुपर्दा परीक्षण गर्ने गरिएको पनि डा.भट्टराईले जानकारी दिए । वीपी प्रतिष्ठानमा हालसम्म ६८ हजार ८ सय ६४ स्वाबको नमुना संकलन भएर परीक्षण भइसकेको छ । ती मध्ये ६० हजार ६ सय २२ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७ हजार १ सय ७४ नमुनाको रिपोर्ट मात्र पोजेटिभ आएको छ । प्रतिष्ठानमा प्रदेश १ का १४ जिल्लाबाहेक २ नम्बर प्रदेशको सिरहा, सप्तरीलगायतबाट पनि अत्यधिकरुपमा परीक्षणको लागि स्वाब आउने गरेको छ ।
धरान उपमहानगरले दियो वासिङ मेशिन
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरान उपमहानगरपालिकाले वासिङ मेशिन सहयोग गरेको छ । प्रतिष्ठानलाई ८ केजी कपडा धुने क्षमताको मेशिन उपलब्ध गराएको डा.भट्टराईले जानकारी दिए । आज बिहान धरानका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रतिष्ठानलाई मेशिन हन्तारन्तरण गरेका थिए ।