धरान: सरकारले सोमबार एकैदिन देशका ३ सय ९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा ५ देखि १५ शैयाको अस्पताल बनाउन लागेको हो। स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सरकारले आज एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो। मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, बागमती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल भवनको शिलान्यास भएको हो ।

hospital

सुनसरीको बराहक्षेत्र नगरपालिकामा अस्पताल भवनको शिलान्यास गरिदै ।

देशका ३ सय ९६ स्थानीय तहमा एक साथ ५ शैया, १० शैया र १५ शैयाका पालिकास्तरका आधारभूत अस्पतालहरूको शिलान्यास गरिएको हो । यस्तै, सात वटा प्रदेशमा ५० र ५० शैयाका सरुवा रोग अस्पतालहरूको पनि एकैसाथ निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ । पालिका स्तरमा निर्माण हुन लागेका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेट रहेको छ । सात वटै प्रदेशमा निर्माण हुने सरुवा रोग अस्पतालका लागि प्रति अस्पताल ८ करोड रुपैयाँको दरले बजेट सरकारले विनियोजन गरेको जनाएको छ ।