धनकुटा: धनकुटा जिल्ला अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवा शुरु भएको छ ।
प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार क्यान्सर परीक्षण सेवाको उद्घाटन गरेका छन् । प्रदेश १ मा जिल्ला अस्पतालबाट पहिलो पटक यो सेवा शुरु गरिएको हो । पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण धनकुटा अस्पतालमा गरेपछि विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालाले अनलाईन मार्फत निःशुल्क रिर्पोट उपलब्ध गराउनेछ । अस्पतालमा हप्तामा आइतवार र बुधबार दुई दिन पाठेघरको मुखको क्यान्सर जाँच गरिनेछ । लक्षण देखिएका तथा शल्यक्रिया गर्नुपर्ने विरामीलाई विराटनगरस्थित प्रदेशस्तरको जनश्वास्थ्य अस्पताल उपचार गरिने अस्पतालले जनाएको छ।
यो सेवाले धनकुटा अस्पतालमा उपचार गर्न आएका नागरिकहरुलाई धरान, विराटनगर पुग्नुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री घिमिरले बताए । यो सेवाले क्यान्सरको सम्भावित विरामीले समयमा नै उपचार गराएर निको हुन मद्दत पुग्ने पनि उनले बताए । सेवाको उद्घाटन गर्दै मन्त्री घिमिरेले मानिसको जीवन शैलीका कारण क्यान्सर रोगका विरामी बढ्दै गएको बताए । पुरुषको तुलनामा महिलाहरु बढी क्यान्सरबाट पीडित हुने गरेको पनि उनले बताए । मन्त्री घिमिरले क्यान्सर रोग न्युनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको पनि बताए । क्यान्सरको शंका लाग्नासाथ परीक्षण गर्न पनि मन्त्री घिमिरेको आग्रह थियो ।
जिल्लास्तरबाट सेवा शुरु भएको जानकारी स्थानीय स्तरसम्म पु¥याउन जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई मन्त्री घिमिरेले आग्रह पनि गरे । सुर्तीजन्य पदार्थ क्यान्सरको वहाव भएर आएकोले यसको नियमन र नियन्त्रण आवश्यक रहेकोमा पनि उनले जोडदिए । पालिकास्तरबाट सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्दै जानुपर्ने उनको भनाई थियो । मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारले योजना बनाएको पनि बताए । उनले भने,‘प्रदेश सरकार शिक्षण अस्पतालका लागि कानुनी प्रकृयामा लागेको छ ।’ चालु आर्थिक बर्ष भित्रमा धनकुटा जिल्ला अस्पतालाई १ सय वेडमा स्तरोन्नती गरिने पनि उनले बताए ।
प्रदेश सांसद निरन राईले धनकुटामा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा शुरु भएकोमा सरकारलाई धन्यवाद दिएका थिए । अब चाँडै नै धनकुटामा एक सय बेडको अस्पताल सञ्चालन हुनेमा उनले विश्वास व्यक्त गरे । साथै, शिक्षण अस्पताल धनकुटामा सञ्चालनको लागि आवश्यक छलफल र प्रक्रिया अघि बढेको पनि उनले बताए । पाठेघरको मुखको निःशुल्क परीक्षण शुरु गरेकै दिन आज ७ जनाको नमूना संकलन गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । नमूना संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने उनले बताए । एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिनेछ ।
हालसम्मको अवस्थालाई हेर्दा प्रयोगशालामा सेवाग्राही आउने गरेको बताउँदै प्रयोगशाला सेवाग्रहीलाई खोज्न गाउँ–गाउँमा जान आवश्यक रहेको उनले बताए । सेवाग्रहीलाई प्रयोगशालाले खोज्दै जाने अभियान अन्तरगत प्रदेशमा पहिलो पटक धनकुटामा पाठेघरको मुखको क्यान्सरको परीक्षण शुरु गरिएको उनको भनाई थियो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले विशेषज्ञ डाक्टरहरुको व्यवस्थापनमा पनि प्रदेश सरकारलाई आग्रह गरेका थिए ।