धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच दिने वार्षिक साइन्टिफिक कार्यक्रमको सुरूवात भएको छ ।
कार्यक्रममा १ सय ४९ वटा अनुसन्धानका सांराश प्रस्तुत हुनेछ । कोभिडको कारण यसपटक डिजिटल प्लाटफर्ममा कार्यक्रम हुने कन्भेनर प्याथोलोजी विभागका प्रमुख प्रा. डा.परीचा उपाध्यायले जानकारी दिइन् । कार्यक्रमको उद्घाटनमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले भर्चुवल माध्यमबाट सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रा. समि लामाले साइन्टिफिक पेपरका विषयमा जानकारी दिइन् । यो बर्ष १ सय ४९ वटा एबस्ट्राक प्राप्त भएको जानकारी दिदै उनले ती मध्ये पोखराको गण्डकी मेडिकल कलेजबाट एउटा र त्रिवी महाराजगञ्जस्थित नर्सिङ क्याम्पसबाट दुई वटा प्राप्त भएको बताइन् । बाँकी सबै प्रतिष्ठानकै भएको उनको भनाई छ । ती अनुसन्धान पेपरहरुमध्ये २९ वटा थिममा १ सय ३ वटा ओरिजिनल तथा ४६ वटा केस रिपोर्ट रहेको छ । तिमध्ये १ सय ४ वटा ओरल र ४५ वटा पोस्टर प्रस्तुती रहनेछ । कुल मध्ये १ सय १० पुरस्कारको विधामा रहेको छ ।
प्रतिष्ठानका कार्यबाहक उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा.गुरूप्रसाद खनालले कोभिड महामारीका कारण यसपाली विगतमा भन्दा भिन्न तरिकाले कार्यक्रम भएको बताए । कोभिडका बिचमा पनि यति धेरै अनुसन्धान पेपरहरु पाएकोले प्रतिष्ठान स्वास्थ सेवाको अनुसन्धान तथा उपचारमा उत्कृष्टता हासिल गर्ने तर्फ अगाडि बढेको उनको भनाई छ ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले निरन्तर रूपमा कार्यक्रम आयोजना गरिएकोमा शैक्षिक विभागलाई धन्यवाद दिए । अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले कार्यक्रम सफलताको शुभकामना दिए । प्रतिष्ठानका पदाधिकारीहरूले एबस्ट्राक पुस्तक सार्वजनिक पनि गरेका थिए । कार्यक्रममा आज जुमबाट पेपर प्रस्तुती हुने आयोजकले जनाएको छ ।