धरानः विराटनगर महानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आरएनए एक्सट्रयाक्सन मेसिन उपलब्ध गराएको छ ।

उक्त मेसिन आज आइतबार प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । विरानटनगरका प्रमुख भीम पराजुली र रोटरी क्लबका पदाधिकारीहरूले उक्त मेसिन प्रतिष्ठानका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका थिए । यो मेसिनसहित हाल प्रतिष्ठानमा ३ वटा पिसिआर मेसिन र २ वटा आरएनए एक्सट्रयाक्सन मेसिन भएको माईक्रोबोयोलोजि विभागका एडिसनल प्रोफेसर डा. नारायणराज भट्टराईले जानकारी दिए । यी मेसिनहरूको सहयोगले दैनिक २ हजार वटा स्वाब नमुना परीक्षण गर्न सकिने उनले बताए । यसअघि मंसिर १० गते रोटरी क्लबले एकैपटकमा ९६ वटा स्वाब नमुना परिक्षण गर्ने पिसिआर मेसिन पनि प्रतिष्ठानलाई दिएको थियो ।

RNA-bpkihs

उक्त मेशिन रोटरी इन्टरन्यासनल डिस्ट्रीक्ट ३२९२ अर्न्तगतका रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनको संयुक्त सहयोगमा प्रतिष्ठानलाई उपलब्ध भएको हो । उपकुलपित गिरीले विराटनगर महानगरपालिका तथा रोटरी क्लबलाई धन्यवाद दिदै कोभिडविरुको युद्धमा ठुलो हतियार प्राप्त भएको बताए । उनले भने,'प्रतिष्ठानमा हाम्रो पहिलो प्राथमिकता भनेको विरामीको उपचारमा प्रत्यक्ष सरोकार राख्ने ल्याब, रेडियोलोजी, इमेजिङ तथा फार्मेसी चुस्त दुरूस्त संचालन हो र त्यसको लागी काम भइरहेको छ ।' रोटरी क्लबको विशेष योगदानमा वीपी प्रतिष्ठानलाई मेसिन उपलब्ध गराएको विराटनगरका प्रमुख पराजुलिले जानकारी दिए । कोभिडको लडाँइमा मानव जिवनको स्वास्थ्यका लागी महानगरपालिकाले निरन्तर रूपमा सहयोग गर्ने समेत उनले प्रतिबद्धता गरेका थिए ।