धरान: एक समय धरानमा कोरोना संक्रमण र मृत्यु दर निक्कै बढी थियो । संक्रमितहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आइसियु मात्र होइन, अक्सिजन बेड पाउन पनि समस्या थियो ।
पछिल्लो समय भने संक्रमण दर न्युन मात्रामा छ भने मृत्यु दर पनि शुन्यमा झरेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार अहिले ५ देखि १० प्रतिशत मात्र संक्रमण दर छ । लक्षण देखिएर स्वाब दिन आउनेहरुको संख्या पनि न्युन छ । ‘गम्भीर प्रकृतिको लक्षण देखिएको छैन, कोही कोही मात्र परामर्शको लागि अस्पताल जाने गरेका छन्,’मेहताले भने ।
स्वास्थ्य महाशाखाका अनुसार होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितहरु डेढ सय हाराहारी मात्र छन् । धरानमा ७ हजार बढीको स्वाब संकलन भइसकेको छ भने ३७ सय बढी पोजेटिभ देखिएका छन् । हालसम्म ७६ जनाको मृत्यु भएको तथ्यांक छ । एन्फा एकेडेमीस्थित क्वारेन्टिन हटाइए पनि आइतबार, मंगलबार र बिहिबार स्वाब संकलन भइरहेको छ । ‘संक्रमण दर न्युन भए पनि भिडभाडले गर्दा जोखिम उच्च नै छ । जुनसुकै बेला पनि संक्रमणको अर्को वेभ आउनसक्ने भएकोले सचेत र सतर्क रहनुपर्ने अवस्था छ,’उनले भने ।
वीपीमा एक जना मात्र संक्रमित भर्ना
एक समय थेग्नै नसक्ने गरि संक्रमितहरुको भिड हुने वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा पनि अहिले मात्र १ जना संक्रमित भर्ना भएका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार पिसिआर पोजेटिभ भएका व्यक्ति एक जना मात्र छन् । प्रतिष्ठानमा हालसम्म ११ सय ७३ जना उपचारको लागि भर्ना भइसकेका छन् । ती मध्ये ९७६ जना डिस्चार्ज भएको प्रतिष्ठानले जनाएको छ ।
उपचारको क्रममा मृत्यु हुनेको संख्या ११९ जना छन् भने ९२ जना संक्रमितको डाइलाइसिस गरिएको प्रतिष्ठानले जनाएको छ । आजको मितिसम्म प्रतिष्ठानमा ७३ हजार ४ सय ५६ जनाको स्वाब नमुना संकलन भएको छ । ती मध्ये ७ हजार ७ सय ७७ मात्र पोजेटिभ रिपोर्ट आएको छ भने ६४ हजार ४ सय ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।