धरान: बेलायतबाट नेपाल आएका ३ जना व्यक्तिमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेश विज्ञप्ती जारी गर्दै बेलायतबाट फर्किएका ६ वटा नमुना मध्ये ३ जनामा नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुमा बेलायतमा देखिएकै नयाँ प्रजातिको भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार संक्रमण भएकाहरु २८ बर्षीया महिला, ६७ बर्षीय पुरुष र ३२ बर्षीय पुरुष रहेका छन् ।
बेलायतमा पछिल्लो समय नयाँ प्रजातिको भाइरस देखा परेपछि त्यहाँबाट नेपाल आउने मानिसहरुलाई निगरानी गर्ने गरिएको छ । त्यसरी निगरानीमा राखिएकाहरु मध्ये ६ जनाको नेपालमा परिक्षण गर्दा ३ वटा नमुनामा एस जिन तार्गेट नेगेटिभ देखिएको थियो । उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो वा होइन भनेर पुष्टि गर्नको लागि गत पुष २७ गते नमुना हङकङ पठाइएको थियो । उक्त नमुनाको नतिजा हङकङबाट आज इ मेलमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोनाको भ्याक्सिन उपलब्ध नभएसम्म सावधानी अपनाउन पनि आग्रह गरेको छ । ‘सकेसम्म भिडमा नजाने, जानुपरे पनि दुई मिटरको दुरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै मुख्य रोकथामका उपाय अपनाउन सबैमा अनुरोध छ,’मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।