धरान: मृतक पक्ष र धरानको विजयपुर हस्पिटल बीच सहमति भएको छ ।
करिब ४ घण्टा भएको छलफलमा दुवै पक्षबीच सहमति भएपनि कानुनी प्रक्रिया पनि चलिरहेको कारण लिखित भने भएन । सहमति पछि हस्पिटल अघिको पुतलीलाइन सडकमा धर्ना दिएका मृतक पक्षहरु इटहरी फर्किसकेका छन् । यो सहमतिले कानुनी प्रक्रियालाई भने कुनै पनि अवरोध वा प्रभावित नपार्ने दुवै पक्षबीच समझदारी पनि भएको छ । इटहरीकी ३१ बर्षीया दीपा राईको सोमबार पित्तथैलीको अप्रेसन पछि मृत्यु भएको थियो । उनको शवको अझै पोष्टमार्टम भएको छैन ।
वार्तामा सहभागी मृतक पक्षका केके राईका अनुसार डाक्टर दोषी देखिएमा कानुन अनुसार कारबाही तथा क्षतिपूर्ति हुने बिषयमा दुवै पक्षको समझदारी छ । तत्कालको लागि भने हस्पिटल सञ्चालकले मानवीय पक्षलाई ध्यान दिदै मृतकको १५ महिनाको छोरीको लालनपालन तथा स्वास्थ्य शिक्षाबारे विचार गर्ने समझदारी बनेको छ । ‘प्रहरीमा मुद्दा भएकोले भोली दोषी देखिएमा कानुनी कारबाही हुने कुरामा दुवै पक्षको सहमति छ, तर तत्कालको लागि मृतकको सानो बच्चा भएकोले हस्पिटल सञ्चालकले मानवीय पक्षबाट लालनपालन, शिक्षा स्वास्थ्यको विचार गर्ने समझदारी बन्यो,’उनले भने, शवको भोली पोष्टमार्टम हुन्छ ।
अप्रेसन पछि शरीरभित्रको रक्तस्राव नरोकिए पछि विजयपुर हस्पिटलले विरामीलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेको थियो । प्रतिष्ठानको आकस्मिक अप्रेसन गर्न नपाई उनको मृत्यु भएको थियो । मृतकका श्रीमान् राजेन्द्र राईले अप्रेसन गर्ने डाक्टर गजेन्द्रप्रसाद दासले अप्रेसनमा लापरवाही गरेको र अन्तिम समयमा मात्र वीपी रिफर गरेको कारण श्रीमतिको मृत्यु भएको भन्दै कारबाही र क्षतिपूर्तिको मागसहित ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् ।