धरान: आफ्नो अधिकारको लागि आन्दोलनमा उत्रिएका हाउस अफिसरहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अस्पताल प्रशासनले स्पष्टीकरण सोधेको छ ।
प्रतिष्ठानले हिजोको मितिमा ६ जनालाई पत्र पठाउदै २४ घण्टे स्पष्टीकरण सोधेको हो । ज्ञापन पत्र बुझाउदा, हातमा कालोपट्टी बाँधेर काम गर्दा र धर्ना दिदा पनि माग सुनुवाई नभएपछि हाउस अफिसरहरुले हिजोदेखि इर्मजेन्सीको काम पनि छोडेर धर्ना दिइरहेका छन् । हिजो बिहान डिउटी भएका ६ जना हाउस असिफरहरुलाई अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
अस्पताल निर्देशक डा.साहले आन्दोलनमा सहभागी हाउस अफिसर र डेन्टल सर्जनहरुलाई नियमावली अुनसार किन कारबाही नगर्ने ? भनेर स्पष्टीकरण सोधेका छन् । यता आन्दोलनरत हाउस असिफरहरुले भने संयुक्तरुपमा स्पष्टीकरण पत्र बुझाएका छन् । उनीहरुले आफुहरुको माग पटक पटक पेश गरेपनि सम्बोधन नभएपछि आन्दोलनमा होमिनु परेको भन्दै कार्यक्षेत्र छोड्नु परेको पनि आफुहरु चिन्तित रहेको उल्लेख गरेका छन् । साथै वार्तामा बस्दा पनि मागहरुको उचित सुनुवाई नभएकोले आफ्नो काम छोडेर आन्दोलन अघि बढाउन बाध्य भएको स्पष्टीकरण पत्रमा उल्लेख गरेका छन् ।
हाउस असिफर तथा डेन्टल सर्जनहरुले पुर्वसुचना दिएर नै आन्दोलन अघि बढाएको र हिजो बुधबारदेखि सम्पुर्ण हाउस अफिसर र डेन्टल सर्जनहरुले मनमा पीडा बोकेर भएपनि काम, कर्तव्य छोडेर आफ्नो हकहितको लागि उपकुलपति कार्यालयअघि धर्नामा बस्नु परेको स्पष्टीकरण पत्रमा उल्लेख छ । प्रतिष्ठानमा हाल ३९ जना हाउस असिफर तथा डेन्टल सर्जनहरु कार्यरत छन् ।
आन्दोलनरत हाउस अफिसर तथा डेन्टल सर्जनहरुले आफुहरुलाई प्रशिक्षार्थी चिकित्सकबाट हटाएर चिकित्सकको तहमा समावेश गर्न माग गरेका छन् । एमबिबिएस उर्तीण गरेका चिकित्सकहरुलाई नेपाल सरकारले ८ औं तहको मेडिकल अफिसरकोरुपमा तलब, भत्ता दिइने भएपनि प्रतिष्ठानमा भने प्रशिक्षार्थीकोरुपमा मात्र हाउस अफिसरमा राख्ने गरिएको छ । जसको तलब सुविधा पनि मेडिकल अफिसर भन्दा न्युन छ ।
यस्तै, आन्दोलनरत पक्षले कोभिडको जोखिम भत्ता पनि उपलब्ध गराउन, २०७६ साउन १ गतेदेखि वृद्धि भएको १५ प्रतिशत तलब प्रदान गर्नुपर्ने माग छ । प्रतिष्ठानका अन्य कर्मचारी तथा चिकित्सकहरुको तलब वृद्ध हुँदा हाउस असिफरहरुको तलब भने विगत ६ बर्षयता वृद्धि नभएको एक हाउस असिफसरले जानकारी दिइन् । ‘हामी एमबिबिएस उतीर्ण गरेको डाक्टर हौं, अन्य अस्पतालमा मेडिकल असिफर भनेर ८ औं तहको सेवा, सुविधा छ, तर यहाँ प्रशिक्षार्थीकोरुपमा राखिएको हुन्छ । हामी प्रशिक्षार्थी त होइनौं नि । हामीलाई चिकित्सकरुपमा नै मान्यता दिएर सोही अनुसार सेवा सुविधा हुनुपर्छ,’उनले भनिन् ।