विराटनगरः प्रदेश एकका लागि आज साँझसम्म ३५ हजार ५ सय खोप विराटनगर आउने भएको छ ।
हेटौंडाबाट स्थलमार्ग हुँदै खोप प्रदेश १ मा आइपुग्ने प्रदेश एकका स्वास्थ्य निर्देशक ज्ञान बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार प्रदेशमा माघ १४ गतेदेखि खोप लगाउने तयारी भइरहेको छ । काठमाण्डौंबाट खोपलाई औषधी व्यवस्था विभागको कार्यालयमा उपयुक्त तापक्रममा राखिने र वितरण गरिने बस्नेतले जानकारी दिए ।
भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपको सम्बन्धमा आज स्वास्थ्य मन्त्रालयको भर्चुअल बैठक बसेको थियो । उक्त बैठकमा भारतबाट प्राप्त उक्त खोपलाई सातै प्रदेशमा आइसक्ने जानकारी दिइएको थियो । निर्देशक बस्नेतले दुई दिन भित्र प्रदेश १ का १६ जिल्लामा खोप सुरक्षित रुपमा पुुर्याइने बस्नेतले बताए । ती खोपलाई स्वास्थ्यकर्मीको सञ्जालमार्फत वितरण गरिनेछ ।
फ्रन्टलाइनमा खटिने स्वास्थ्य कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई ती खोप दिइने सरकाले जनाएको छ । प्रदेश एकमा करिब ४० लाख जनसँख्या रहेको छ ।