धरान: सत्तारुढ दल नेकपाकै एक पक्ष मध्यावधी निर्वाचनप्रति असहमत रहदै सडक संघर्षमा उत्रिरहदा निर्वाचन आयोग भने चुनावको तयारीमा जुटेको छ ।
मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपतिले संसद विघटन गरेर बैशाख १७ र २७ गते चुनाव घोषणा गरेपछि नेकपाकै प्रचण्ड माधव समुह आन्दोलनमा छ । यो समुहले संसद विघटनबारे सर्वोच्च अदालतको संवैधानिक परिषदमा मुद्दाको सुनुवाई भइरहेको भन्दै आयोगले चुनावको तयारी गर्न नहुने अडान राख्दै आएको छ । तर, आयोगले भने आगामी निर्वाचनलाई लक्षित गरेर आजदेखि मतदाता नामावली अद्यावधिक कार्य थालेको छ ।
स्थानीय तहहरुमा आजदेखि तीन दिन नामावली अद्यावधिक कार्य थालिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ । मतदाताहरुले त्यसमा भएको त्रुटीहरु सच्याउने र अद्यावधिक गर्ने कार्य हुनेछ । ‘मतदाता नामावली प्रकाशन हुन्छ, त्रुटी छ भने सच्याउने, सुद्धिकरण गर्ने र अद्यावधिक गर्ने कार्य हुन्छ,’प्रमुख पौडेलले भने ।
सरकारले २०७८ बैशाख १७ गते र २७ गते मध्यावधी निर्वाचन घोषणा गरेकोले सोही निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली अद्यावधिक कार्य थालेको पौडेलले जानकारी दिए । सुनसरीको १२ वटै स्थानीय तहहरुमा एक जना कर्मचारी खटिएको छ । ‘दोहोरो नाम भए हटाउने, मृत्यु भएका व्यक्तिको नाम हटाउने, नाममा केही गल्ती भए सच्याएर अद्यावधिक हुन्छ,’उनले भने । विगतमा वडा कार्यालयहरुबाट अद्यावधिक कार्य हुने गथ्र्यो । यसपाली समय छोटो भएकोले गाउँ र नगरपालिकाको कार्यालयबाट मात्र यो व्यवस्था गरिएको आयोगको कार्यालयले जनाएको छ ।