धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रयोग हुने मृत शरीरलाई संरक्षण गर्न स्याचुरेटेड साल्ट सोलुसन(एसएसएस) विधि सफल भएको छ ।
आज विहिबार प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरू प्रसाद खनालको उपस्थितीमा एनेटमी विभागका एसोसिएट प्रोफेसर डा. प्रभाकर यादवले प्रतिष्ठानमा मृत शरीर (सफ्ट क्याडेभर)लाई संरक्षण गर्न यो विधि सफल भएको प्रर्दशन गरेका थिए । नेपालमा यसअघि फ्रेस तथा ड्राइ क्याडेभरको प्रयोग मात्र हुने भएको थियो । ड्राइ क्याडेभरमा फर्मालिन भन्ने केमिकलको मात्रा अधिक रूपमा प्रयोग हुने भएकाले त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्ने गर्छ । वीपी प्रतिष्ठानमा तयारी गरीएको सफ्ट क्याडेभरमा स्याचुरेटेड स्लट सोलुसन प्रयोग हुने र फर्मालिनको मात्रा एकदमै न्युन हुने भएकाले आँखा पोल्ने, स्वास प्रश्वासमा समस्या हुने लगायतको समस्या नहुने डा.यादवले बताए ।
सफ्ट क्याडेभर कोठाको तापमानमा नै भण्डारण गर्न सकिने भएकाले भण्डारण गर्न अन्य महँगा र अत्याधुनिक उपकरणहरूको आवश्यकता नपर्ने डा. यादवले बताए । यसले भण्डारण खर्च घटाउने उनको भनाई छ । विपी प्रतिष्ठानमा सफ्ट क्याडेभरको तयारी अन्तराष्ट्रिय मापदण्ड अनुसार भएकोले नेपाल लगायत अन्य राष्ट्रहरूका सर्जनहरूलाई प्रशिक्षणको लागी निम्त्याएर प्रतिष्ठानको आम्दानीमा वृद्धि गर्न सकिनेसाथै यसको प्रयोग एमबिबिएस र पोस्ट ग्राजुएटका विधार्थीको अध्ययनको लागी प्रयोग गर्न सकिने डा. यादवले बताए । यो विधि जापानका डा.सागो हायसीले प्रतिपादन गरेका हुन् । प्रतिष्ठानमा उनकै प्रत्यक्ष निगरानी र सल्लाहमा यो विधि सफलतापुर्वक गरिएको हो । यो विधि पहिलो पटक नेपालमा प्रतिष्ठानले शुरुवात गरेको हो ।
सफ्ट तथा ड्राइ क्याडेभरको बिचमा हुने फरकको विषयमा अर्थोपेडिक विभागका एसोसिएट प्रोफेसर डा. विष्णु पोखरेलले प्रत्यक्ष चिरफार गरेर देखाएका थिए । यो नयाँ विधि प्रयोग गर्दा लाशहरु लामो समय ज्यूँदो व्यक्तिको जस्तै शरीर रहने भएकोले चिरफार तालिम गर्दा अपरेशन थिएटरमा जिवित व्यक्तिको सर्जरी गरे जस्तै हुने र अप्रेसनमा लाभ पुग्ने बताए । डा.पोखरेलका अनुसार लाशलाई कुहिन नदिन प्रयोग गरिएको स्याचुरेटेड साल्ट सोलुसन विधिलाई नयाँ सर्जिकल तालिमहरु गर्नलाई एकदमै उपयोगी हुने बताए ।
उनले भने,'यो विधिबाट लाशलाई संरक्षण गर्दा जोर्नी, मांसपेशीहरु जीवीत अवस्थामा जस्तो रंग, नरमपन हुन्छ । त्यस्तै रहन्छ । यसले गर्दा हामीले अध्ययन गर्दा ज्यूउँदो मान्छेको जस्तै देख्न पाउछौं, र यो सर्जिकल तालिमहरु गर्नलाई उपयोगी हुन्छ ।' नेपालको मेडिकल क्षेत्रमा सफ्ट क्याडेभरको प्रयोग एतिहासिक कार्य हुने प्रतिष्ठानका उपकुलपति प्रा.डा. गिरीले बताए । यसलाई तत्काल प्रयोगमा ल्याउन एनेटमि विभागसँग छलफल गरी कार्य अगाडी बढाउने उनले प्रतिबद्धता जनाए ।