विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छिन् ।
प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताएकी हुन् । आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालका लागि १ सय ८० वेड तयारी अवस्थामा रहेको बताएकी हुन् । आवश्यकता अनुसार जिल्ला स्तरमा पनि कोभिड अस्पताल तयारी राख्न र सीमा नाकामा आवश्यक सर्तकता अपनाउनका लागि निर्देशन दिईएको समेत बताइन् । उनले कोभिड अस्पतालमा उपचारको प्रवन्ध गर्न निर्देशन दिदै कतैबाट गुनासो आउने अवस्था सृर्जना हुन नदिने पनि बताइन् ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको बताए । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको उनले बताए । सचिव कार्कीले भने,‘देशव्यापीमा बृद्धि भएको दरकै अनुपातमा संक्रमण बढेको छ ।’ कोरोनाको पुनराबृत्ति भएको देखिएको उनले बताए । संक्रमण दर बढेसँगै अस्पताल, आईसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए । आवश्यकता अनुसार आईसोलेसन कोभिडको व्यवस्थापनका लागि चाँडै प्रदेश स्तरिय सीसीएमसीको बैठक तयारी भईरहेको उनले बताए ।