इटहरीः  ‘सँक्रमित बिरामी बोक्न नगरपालिकाले एम्बुलेन्स मागेको छ । तिमी तयार हुनु ।’ कोरोना के हो भन्ने राम्रोसँग बुझ्नै पाएका थिएनन् । इटहरी रेडक्रसका सभापती विमल पौडेलले एम्बुलेन्स चालक राजन कार्कीलाई इटहरी नगरपालिका पुग्न खबर गरे । उनले ०७६ चैत १३ गते एम्बुलेन्स उतै मोडे ।  

विश्वभर नै यो नयाँ भाइरसले मानिसलाई अप्ठ्यारो पारेको बुझेका राजनले आँफैले यस्तो खतरनाक भाइसरबाट सँक्रमित हुने मान्छेलाई यति चाँडो बोकिहाल्नुपर्ला भनेर सोचेकै थिएनन् । तर, रेडक्रसको काम हो, मानव सेवामा तल्लिन हुने कार्कीले नाइ नास्ति नै गरेनन् । बरु पिपिई सेट लिन नगरपालिका पुगे । र, सेवामा हाँजिर भए । 

त्यति बेला कोरोना पोजेटिभ भएका मान्छेलाई हेर्ने दृष्टिकोण अत्यन्त अमानवीय थियो । दिनहुँ आइरहने समाचारले नराम्ररी प्रभाव पारेको बेला इटहरी पहिलो पटक सँक्रमित बोक्न उनी तयार थिए । यता मानिसहरु भने सँक्रमित भएको थाहा पाए त्यो टोलको बाटै हिँड्दैन थिए । छिःछि र दुरदुरको अवस्था थियो । छिमेकीले तिरस्कार गर्थे । भाडावाललाई डेरामा बस्न नदिएको खबर सुनिन्थ्यो । मान्छेलाई मान्छेको जस्तो व्यवहार नै हुन छाडेको थियो । 

... ... 

तेह्रथुममा जन्मिएका कार्कीले गाडी नै देखेका थिएनन् । पहिलो पटक गाडी चढेर इटहरी आएका उनले २०५९ सालमा रेडक्रसमा कार्यालय सहायकको रुपमा काम गरे । त्यहिँ बसेर गाडी चलाउन जानेका उनले २०६५ सालदेखि निरन्तर रुपमा इटहरी रेडक्रसको एम्बुलेन्स चलाउँदै आएका छन् । 

मानव सृजित र प्राकृतीक विपत्तिको कयौँ घटनामा साक्षी बनेका कार्कीलाई सँसारभर यति ठुलो विपत्ति परेको पहिलो पटक थाहा पाएका थिए । उनले यस्तो बेला डरले होइन, विवेक र हिम्मतका साथ सेवा गर्नुपर्छ भन्ने भावनाले उर्जा मिलेको बताउँछन् । ‘डर नै लागेन । आखिरी हाम्रो ठाउँमा मात्र होइन, डराएर के गर्ने भन्ने भयो ।’उनले भने  ‘हामी डरायौँ भने सर्वसधारण त त्यसै आतंकित हुने नै भइगयो नि । यहि हिम्मतले जित्यो र सेवामा जुट्यौँ ।’

नगरपालिकाको फ्रन्टलाइन सेवक भएर उनले निरन्तर काम गरे । एकै दिन ४–५ जनासम्म सँक्रमित लिएर अस्पताल पुर्याउँदा उनले अनेकौँ हण्डर खाए । त्यसमाथि निश्चित आइसोलेटेड अस्पतालमा सँक्रमित पुर्याउँदा त्यहाँ सँक्रमित भरिएर पुनः अर्को अस्पताल लग्नुपर्दा भोगेको समस्या भनिसाध्य नभएको उनी बताउँछन् । 

‘यताबाट त्यहाँ पुर्याएर आउनु भनेको हुन्छ,’उनले स्मरण गरे,‘एक्लो सँक्रमितलाई अस्पतालमा पुर्यायो, त्यहाँ भनेकै हुँदोरहेनछ । अनि भएन फसाद ? न छाडेर हिँड्नु न अन्त कहिँ लग्नु । यस्तो त कति भोगेँभोगेँ ।’

सरकारी निकायबीचको समन्वय नहुँदा उनले मात्र होइन, सँक्रमित बोक्ने जो कोहि चालकले यस्तो हण्डर खाएको उनको अनुभव छ । करिब ४ महिना निरन्तर सेवामा खटिएका कार्कीले आफुले बोकेका कोहि पनि सँक्रमितले ज्यान भने गुमाएनन् । ‘हाम्रा लागि त निजी समय नै छैन । जति बेला पनि हिँडिहाल्नुपर्छ,’उनले भने,‘कोरोनाको बेला पुरा समय कोभिड सँक्रमित बोक्न मात्र खटिँदा मैले बोकेका कोहि सँक्रमितले ज्यान गुमाएनन् । खुसी लागेको छ ।’ 

दिनहुँ सँक्रमित र चिकित्सकसँग भटिरहनुपर्ने उनको बाध्यता थियो । सामान्य एक सेट पिपिई दिनभर लगाएर राती धोएर सुधाउँथे । त्यो पनि कतिबेला हिँड्नुपर्ने टुँगो हुँदैन थियो । सीमित स्रोत र साधनको भरमा रातदिन नभनी खटिएका कार्कीलाई केहि समयपछि कोरोनाको लक्षण देखा पर्यो । तर, उनले टेष्ट गरेनन् । 

‘डाक्टरलाई सोधेँ यो कोरोना नै हो भन्नुभयो । अनि वहाँहरुले सँक्रमित कसरी बसेका छन्, कस्तो खानपानमा छन् भन्ने बुझाउनुभयो,’उनले चिकित्सकको कुरा सम्झिँदै भने,‘डाक्टरहरुले टेष्ट गर्नुभन्दा घरमै पोषिलो आहार लिएर सतर्क भइ काममा गइरहनु । तिमी घरमा बसे कसले सँक्रमित बोक्छ भन्नुभयो । मलाइ पनि उचित लाग्यो र काम रोकिन ।’

विपत्तिमा मान्छेले आपसमा कस्तो व्यवहार गर्छ भन्ने दृष्य देखेका कार्कीलाई मान्छेले आपतमा हमेसा साथ नदिने गरेको गुनासो गर्छन् । विश्वव्यापी मानवताको सेवामा रहने सँस्था रेडक्रसमा वर्षौदेखि सेवा दिइरहेका उनले कोरोना सँक्रमणको उच्च बिन्दुमा हुँदा भएको विभेद भनिसाध्य नभएको बताउँछन् । तर, जब मान्छेले कोरोनालाई सामान्य रुपमा लिन थाले र यसले नेपालमा खासै ठुलो हताहती भएन, त्यसपछि मात्र सँक्रमितलाई हेर्ने व्यवहार बद्लियो । मानिसहरु खुलेर सँक्रमित भएको भन्न थाले । 

सँक्रमित बोक्ने अरु पनि सँस्थाका एम्बुलेन्स तयार हुन थालेपछि भने बल्ल कार्कीलाई केहि राहत महसुस हुन थाल्यो । ‘रोगले भन्दा मान्छेको व्यवहारले मान्छे कमजोर हुँदो रहेछ नि ।’ कार्की भन्छन् ‘मान्छेमा हिम्मत भए त बिराम निको हुन समय लाग्दैन रहेछ ।’

सँक्रमित बोक्दा उनी रेडक्रसले उपलब्ध गराएको आफ्नै निवासमा परिवारसँग बस्थे । छुट्दै आइसोलेटेड कोठा नदिएपनि परिवारलाई जोखिममै राखेर उनले सेवा दिइरहे । काम सकेपछि पनि अनिवार्य आइसेलेसनमा बस्नुपर्ने सरकारी नियम थियो । त्यो बापत उनलाई केहि सेवा पनि मिल्यो । तर, उनलाई त्यो व्यवस्था नगरदिएकोमा गुनासो छ । उनले सरकारले भने बमोजिमको जोखिम भत्ता चाहि पुरा पाएका छन् । 

...   ... 

अहिले फेरी कोरोनाको नयाँ प्रजाति देखिएको र यसले थप नोक्सान पुर्याउन सक्ने समाचार उनले बारम्बार सुनिरहेका छन् । तर, दिनहुँ बिरामी बोकेर अस्पताल र बजार क्षेत्र पुग्ने उनले मानिसहरु गम्भिर नभएको बताउँछन् । 

‘विज्ञले भनिरहेका छन् कि सतर्क हुनु, भिड नगर्नु,’कार्की भन्छन्,‘तर मान्छे अटेरी छ । कसैले भनेको मान्दैन । यसले भोलीका दिनमा ठुलो नोक्सान हुने त होइन ? मलाई शंका लागिरहेको छ । त्यति बेला सँक्रमित बोक्ने मान्छे नपाइला कि जस्तो लाग्छ ।’