विराटनगर: प्रदेश नं. १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् ।
थप भएका संक्रमितहरुमा मोरङमा २९ जना छन् भने सुनसरीमा ६ जना, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२ महिला र १५ पुरुषमा संक्रमण पुष्टि भएको छ भने बुढीगंगा र कानेपोखरीमा १–१ जनामा संक्रमण देखिएको छ ।
यस्तै, सुनसरीको इटहरीमा ३ जना, बर्जु, इनरुवा र हरिनगरमा १–१ जनामा संक्रमण देखिएको छ भने झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६४७ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमित २६६ जना छन् ।
प्रदेश १ मा आज ३३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।