धरान: गत माघ र फागुनमा पहिलो र दोस्रो प्राथमिकतामा कोरोनाविरुद्ध खोप लगाएकाहरुलाई लक्षित गरेर धरानमा पनि भोली मंगलबारदेखि दोस्रो मात्राको खोप लगाइने भएको छ ।
धरानको छाताचोकस्थित पुरानो अस्पतालमा खोप केन्द्र रहने उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार पहिलो प्राथमिकतामा रहेर गत माघ १४ गतेदेखि २३ गतेसम्म फ्रन्टलाइनरहरुले खोपको पहिलो मात्रा लगाएका थिए । यस्तै, दोस्रो प्राथमिकतामा रहेकाहरुले फागुन २ गतेदेखि १० गतेसम्म खोपको पहिलो मात्रा लगाएका थिए । उनीहरुलाई नै लक्षित गरे खोपको दोस्रो मात्रा लगाउने अभियान शुरु हुन लागेको मेहताले जानकारी दिए ।
माघ १४ देखि २३ गतेसम्म र फागुन २ देखि १० गतेसम्म पहिलो मात्रामा खोप लगाएकाहरुले खोप केन्द्रमा आएर दोस्रो मात्राको खोप लगाउन मेहताले आह्वान गरेका छन् । भारत सरकारले नेपाललाई अनुदानकोरुपमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । उक्त खोप कोरोनाविरुद्ध खटिएका फ्रन्टलाइनर, सुरक्षाकर्मी, कर्मचारी तथा ज्येष्ठ नागरिकहरुलाई लगाइएको थियो ।