धरान: सुनसरीको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसि) बैठकले मन्त्रीपरिषदले गरेको निर्णयलाई कार्यान्वयन गराउदै जिल्लामा जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ शंका लागेर पिसिआर जाँचको लागि स्वाब दिएका व्यक्तिहरु रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्न पनि अनुरोध गरेको छ । बैठकले स्वाब परीक्षणको रिपोर्ट नआएसम्म बाहिर हिडडुल, भेटघाट र बैठक नगर्न आमनागरिकलाई अनुरोध गर्ने निर्णय गरेको हो । नेपालमा पनि नयाँ भेरियन्टको कोभिड १९ भाइरसको संक्रमण तथा मृत्युदर बढ्दै गएपछि हिजो सोमबार मन्त्रीपरिषद बैठकले भिडभाड हुने क्षेत्रहरुमा थुप्रै प्रतिबन्धात्मक निर्णय गरेको थियो ।
प्रजिअ ढकालको अध्यक्षतामा बसेको बैठकले जिल्लाको सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, खेलकुदलगायत भिडभाड हुने क्षेत्र तथा कार्यक्रमहरु पनि बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । मठमन्दि, मज्जिद, गुम्बा, चर्चलगायत धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरि बैशाख मसान्तसम्म नित्य पुजा, ध्यान र प्रार्थना मात्र गर्ने तथा गराउने निर्णय गरेको छ । यस्तै, कार्यालय र पसल जस्ता सार्वजनिक स्थलहरुमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने, मास्क नलगाउनेलाई प्रवेश गर्न नदिने निर्णय पनि डिसिसिएमसि बैठकले गरेको छ ।
यसैगरि, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्ने पनि निर्णय छ । होटल तथा रेष्टुरेष्टहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्ने, त्यसपछि टेवअवे र होमडेलिभरी सेवा मात्र उपलब्ध गराउने बैठकको निर्णय छ ।
यस्तै, स्वास्थ्य मन्त्रालयले तोकेको अस्पताल र प्रयोगशालाले कोभिड १९ सम्बन्धी परीक्षण र उपचार निःशुल्करुपमा गर्ने निर्णय बैठकको छ । सबै स्थानीय तहले १५ बेड क्षमताको सरकारी, समुदायिक, गैरसरकारी र निजी अस्पतालसँग संक्रमितको उपचारको लागि सम्झौता गर्ने पनि निर्णय भएको छ । आवश्यकता अनुसार स्थानीय तहभित्र स्वाब संकलन, पिसिआर परीक्षणको व्यवस्था मिलाउने, आफ्नो क्षेत्रमा क्वारेन्टिन र आइसोलेसन सेन्टरको तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।