धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी विस्तार गरिएको छ । 

विरामीको अत्याधिक चापलाई मध्यनजर नवनिर्मित इर्मजेन्सी भवनमा सेवा विस्तार गरिएको हो । एक कार्यक्रमबीच आज प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले  नयाँ इमरजेन्सी ब्लकको उद्घाटन गरेका छन् । 

उपकुलपति डा.गिरीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेर कार्यहरू अघि बढाएको बताए । “इमरजेन्सी भनेको कुनै पनि अस्पतालको मुहार हो । इमरजेन्सीमा तत्काल उपचार पाउनुपर्ने विरामीहरू आउने गर्छन् । यसलाई मध्यनजर गर्दै हामीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेका छौ,” उनले भने, “इमरजेन्सीमा कुनै पनि समस्या आएमा तुरून्त समस्याको समाधानका लागी कार्यहरू अगाडी बढाइनेछ ।” कोरोना महामारीको दोश्रो लहरले भयावह स्थिती ल्याउन सक्ने बताउँदै त्यसको लडाँइका लागी समेत कार्ययोजना तयार भइसकेको उपकुलपति गिरीले जानकारी गराए । 

bp1

उद्घाटनमा शिक्षाध्यक्ष प्रा. डा. गुरू प्रसाद खनाल, रजिष्ट्रार प्रा. डा. मोहन चन्द्र रेग्मी, अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहको पनि उपस्थिति रहेको थियो । नयाँ ब्लकमा २१ वटा बेडको क्षमता रहेको इमरजेन्सी तथा फेमली मेडिसिन विभागका प्रमुख प्रा. डा. ज्ञानेन्द्र मल्लले जानकारी दिए । कोभिडको दोश्रो लहर शुरु भएको बेला २१ बेड क्षमताको इमरजेन्सी नयाँ ब्लकले धेरै राहत पुग्ने उनले बताए । उनका अनुसार दुई वटा बेडको छुट्टै आइसोलेसन रूम समेत रहेको छ । 

“इमरजेन्सीमा भर्ना भएका विभिन्न प्रकृतिका विरामीहरूलाई ट्राएज गरी विरामीको स्वाथ्य स्थितीको आधारमा उपचार गर्ने गरेका छौं, आकस्मिक कक्षमा कार्यरत चिकित्सक लगायत सम्बन्धित विभागका विशेषज्ञ सहित रोगको गम्भीर्यतालाई मध्यनजर गरि राय, सुझाव र उपचार पद्धती बारे छलफल गरीन्छ । त्यस पश्चात विरामीलाई सम्बन्धित वार्ड, आईसियूमा भर्ना गर्ने वा सामान्य उपचार र अवलोकन गरि डिस्चार्ज गर्ने निर्णय गछौं,” उनले भने ।