धरान: कोरोना संक्रमण तीब्र दरमा वृद्धि भइरहदा सरकारले कार्यालहरुमा मास्क लगाउन र स्यानिटाइजर अनिवार्य राख्न स्वास्थ्य मापदण्ड बनाएको छ । तर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र (ब्लड बैंक)मा भने स्यानिटाइजर राखिएको छैन ।
विरामीलाई आवश्यक रगत लिन र रक्तदान गर्न मानिसहरुको आउजाउ भइरहने ब्लड बैंकमा स्यानिटाइजर नभएपछि रक्तदान गर्न पुगेकाहरु पनि रक्तदान नगरि फर्किरहेका छन् । सोमबार बिहान रक्तदान गर्न पुगेका धरानका पत्रकार रत्न आचार्य ब्लड बैंकमा स्यानिटाइजर नभएपछि रक्तदान नगरी फर्कनु परेको बताउँछन् । उनका अनुसार एक जना विरामीलाई रगत आवश्यक भएपछि रक्तदान गर्न ब्लड बैंकमा पुगेका थिए । तर, स्यानिटाइजरसमेत नभएपछि रक्तदान नगरि फर्किएको उनले बताए । आचार्य रेडक्रसका आजिवन सदस्यसमेत हुन् ।
पत्रकार आचार्यले सामाजिक सञ्जाल फेसबुकमा २ जना कर्मचारीले स्यानिटाइजर नभएको बताएको पनि उल्लेख गरेका छन् । यसबिषयमा रेडक्रस सभापति उमेश थापालाई पनि जानकारी गराइसकेको जानकारी दिए । साथै, प्रमुख जिल्ला अधिकारीको पनि ध्यानाकर्षण गराएको बताएका छन् । यसअघि पनि अरु रक्तदाताहरुले ब्लड बैंकमा स्यानिटाइजर नगरी रक्तदान गरेको बताएका छन् । इटहरीबाट धरान आएर रक्तदान गरेका अर्का सञ्चारकर्मी मिलन विछोडले पनि यसअघि आफुले ब्लड बैंकमा स्यानिटाइज नगरी नै रक्तदान गर्नुपरेको उल्लेख गरेका छन् ।
रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले सेन्सर मेशिन भएको स्यानिटाइजर राखिएको र मेशिन बिग्रिएर नचलेको हुनसक्ने बताए । उनले तत्काल बनाउन प्राविधिक पठाइसकेको पनि बताए । 'हात लगाउने बित्तिकै झर्ने स्यानिटाइजर छ । मेशिन बिग्रियो होला, के भएको हो भनेर हेर्न प्राविधिक पठाउदैछ । व्यवस्था हुन्छ,' उनले भने ।