विराटनगर: प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक अभियानको शुरुवात गरेको छ ।
सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । विराटनगर बसपार्कबाट अभियानको शुरुवात गरिएको थियो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ ।
अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाईदिएकी थिइन् । उनले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवश्यक रहेकोमा जोड दिइन् । उनले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरिन् । सवैको सहयोगले मात्र कोरोना नियन्त्रण सम्भव रहेको मन्त्री राईको भनाई थियो । मन्त्री राईले सामाजिक चेतनाका लागि कोरोना नियन्त्रणको अभियान थालिएको उल्लेख गरिन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापा, स्काउट प्रदेश १ का संयोजक रवि खनाल, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, स्काउटर लगायतको सहभागिता रहेको थियो । सामाजिक विकास मन्त्रालयले मोरंग बाहेकका जिल्लाहरुमा पनि सांकेतिक रुपमा अभियान सञ्चालन गरिने जनाएको छ । जनचेतना मुलक अभियान शुरुगर्नु पुर्व सामाजिक विकास मन्त्री राईले आज सामाजिक विकास मन्त्रालयमा सरोकारवालासँग छलफल गरेकी थिइन् ।