धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड १९ को संक्रमण बढ्दै गएको कारण नियमित सेवा पनि खुम्चदै जाने अवस्था भएकोले अत्यावश्यक नपरी अस्पताल नआउन अपिल गरेको छ ।
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले आज सार्वजनिक अपिल जारी गर्दै महामारीको दोस्रो लहरको प्रकोप कम नहुँदासम्म सबैले कोभिड १९ को रोकथामको सुरक्षा उपायहरु अवलम्बन गर्न र अत्यावश्यक काम नपरी अस्पताल नआउन अपिल गरेका हुन् । कोभिड महामारीको दोस्रो लहर विश्वव्यापी भएसँग प्रतिष्ठानमा दैनिकरुपमा कोभिड १९ का विरामीहरु आउने तथा भर्ना हुने दर द्रुत गतिमा बढ्दै गइरहेको प्रतिष्ठानले जनाएको छ ।
साथै,प्रतिष्ठानस्थित कोभिड १९ अस्पतालमा जटिल किसिमका विरामीहरु भर्ना गरेर उपचार गराउनुपर्ने आवश्यकता बढ्दै गएको निर्देशक डा.साहले जानकारी दिएका छन् । महामारीको बाध्यात्मक अवस्थाले पुर्याएको असहजता बुझिदिन प्रतिष्ठानले आग्रहसमेत गरेको छ । साथै, कोभिडको दोस्रो लहरको असर बढ्दै गएपछि अस्पतालमा कोभिड १९ उपचार सेवा थप विस्तार गर्नुपरेमा आकस्मिक बाहेकका अन्य सेवाहरु स्थगन गर्नुपर्ने अवस्था आउनसक्ने पनि प्रतिष्ठानले प्रष्ट्याएको छ ।