विराटनगर: प्रदेश १ सरकारले आज (शुक्रबार)देखि कोरोना संक्रमितको उपचारको लागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि नै विरामी भर्ना शुरु गरिएको छ । विरामी भर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गरेका थिए । अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोना संक्रमितको उपचारकय लागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताए । उनले संक्रमण दर बढेसँगै उपचारको प्रवन्ध पनि गर्दै गएको बताए । उनले निजी अस्पतालहरुसँग पनि छलफल भईरहेको बताए ।
मुख्यमन्त्री राईले विराटनगर बाहेक जिल्लास्तरमा पनि २० वेड सम्मको आईसोलेसन केन्द्र निर्माणका लागि जिल्ला अस्पतालहरुलाई निर्देशन दिईसकिएको बताए । विराटनगरमा संक्रमण बढ्दै गएकाले चेनब्रेक आवश्यक भएकोमा जोडदिए । मुख्यमन्त्री राईले प्रदेश १ का विभिन्न ५ स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय भएको पनि जानकारी दिए । उनले विराटनगर रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी, सोलु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिए ।
सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताइन् । कोभिड अस्पतालको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भईसकेको उनले बताइन् । एउटा सिफ्टमा १९ जना रहने गरि व्यवस्थापन गरिएको मन्त्री राईको बताइन् । अपुग जनशक्तिका लागि पनि व्यवस्थापनको तयारी भईरहेको उनले बताइन् ।