धरान: तीन दिनको अन्तरालमा कोरोना संक्रमणले एकै परिवारका दुई जनाको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवाको महेन्द्र चोकलाई सिल गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको रोकथाम र नियन्त्रणको लागि महेन्द्र चोक सिल गरिएको जनाएको छ । एकै घरको आमा र छोराको तीन दिनको अन्तरालमा संक्रमणबाट मृत्यु भएपछि महेन्द्र चोक क्षेत्रलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार आमाको ३ दिनअघि संक्रमणबाट मृत्यु भएको थियो भने छोराको आज बिहान मृत्यु भएको थियो । घरका २ जना छोरीहरु पनि संक्रमित भएको उनले बताए ।

प्रशासनले समुदायस्तरमा नै संक्रमण भएको आशंका गरेको छ । समुदायस्तरमा एन्टि जेन परीक्षण गरेर रिपोर्टको आधारमा कहिलेसम्म सिल गर्ने भनेर निर्णय हुने पोखरेलले बताए । ‘आज र भोली एन्टि जेन परीक्षण गछौं, र रिपोर्टको आधारमा कहिलेसम्म सिल गर्ने भनेर निर्णय हुन्छ,’उनले भने ।