धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय बेड क्षमताको कोभिड १९ अस्पताल गत बर्षदेखि नै सञ्चालनमा छ । प्रतिष्ठान प्रदेश १ को मात्र नभै प्रदेश २ बाट पनि विरामी रिफर भई आउने अस्पताल हो । 

गत बर्ष कोभिडको पहिलो लहरको बेला प्रतिष्ठानको कोभिड अस्पतालको उपचार सेवाबारे धेरै आलोचना भयो । उपकरण खरीददेखि विरामीहरुलाई राम्रो उपचार हुन नसकेको, खानपिन समेत समयमा नदिइने गरेको भन्दै आवाजहरु उठे । अक्सिजन बेडको अभावमा धेरै विरामी घरमा नै र विराटनगर तिर भौतारिदै ज्यान गुमाए । 

  अहिले नेपाल कोभिड १९ महामारीको दोस्रो लहरको चपेटामा छ । अक्सिजन सिलिण्डर अभाव छ, र विरामीहरुले अक्सिजन नपाएर नै ज्यान गुमाइरहेको छ । धरानमै पनि गत बैशाख यता एक महिना अवधिमा १७ जना संक्रमितको ज्यान गुमिसकेको छ । वीपी प्रतिष्ठानमा सय बेडको कोभिड अस्पतालमा सय जना विरामी भर्ना नहुदै बेड छैन भनेर अन्यत्र पठाइदिने गरेको, संक्रमितलाई खाना समयमा नदिइने गरेकोलगायत गुनासाहरु सुनिन थालेको छ । 

अहिले वीपी प्रतिष्ठानको कोभिड अस्पतालको अवस्था के छ ? त्यहाँ संक्रमितहरुलाई कसरी उपचार गरिन्छ ? प्रतिष्ठानले अक्सिजन कसरी व्यवस्थापन गरिरहेको छ ? संक्रमितका परिवारहरुको गुनासोलाई कसरी सम्बोधन गर्छ ? यिनै प्रश्नको जवाफ खोज्न हामीले वीपी प्रतिष्ठान धरानका सहप्रवक्ता डा.चुडामणी पोखरेलसँग कुराकानी गरेका छौं । उनको भनाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ: 

 'कोभिड १९ को दोस्रो लहर शुरु भएपछि आउने विरामी जटिल भएर आइराखेका छन्, व्यवस्थापन जटिल छ । सबैभन्दा समस्या अक्सिजन हो । तर, हाम्रो आफनै अक्सिजन प्लान्टबाट सय बेडमा पुग्ने गरि पाइपलाइन बिछ्याइएको छ ।  पोहोर पहिलो बर्षको अनुभव लिएर अक्सिजन पाइपलाइन बिछ्याउनुपर्छ, सिलिण्डरबाट साध्य हुदैन भन्ने अनुभवले पाइपलाइनबाट दिइरहेका छौं ।

कोभिड भएका विरामीलाई आत्तिने, मनोवल खस्कने हुन्छ । उहाँहरुलाई हौसला प्रदान गर्न ४, ५ महिनादेखि न्युन विरामी हुँदा पनि बिहान ४५ मिनेट परामर्श गर्ने गरेका छौं । मनोवल उच्च बनाउन प्रयास गर्छौं, हौसला दिन्छौं । सँगसँगै बेडमा जो जस्तो विरामी छ, जसरी गर्न मिल्छ उहाँहरुलाई योगा सिकाउछौं । त्यसैले गर्दा कोडिभ अस्पितमाल जुन विरामीहरु हुनुहुन्छ उपचार राम्रो हुदैछ, साथै मनोवल उच्च छ । 

विरामीका आफन्तहरुको गुनासोहरु छन्, त्यसैले प्रतिष्ठानले २ जना फोकल पर्सन पनि नियुक्ती गरेको छ । डा.विकास साह आन्तरिक व्यवस्थापन र अभिलेख राख्नको लागि हुनुहन्छ । उहाँ यहाँ आइसकेपछि खाना व्यवस्थापनको लागि एक जना कर्मचारी नियुक्ती गरेका छौं । खाना पुगिरहेको छ कि छैन, चिसो वा तातो के पुगेको छ, स्वास्थ्य खाना छ कि छैन भनेर हेर्न । 

विरामीको आफन्त बाहिर बसेका हुन्छ, विरामीको अवस्था भित्र के कस्तो छ भन्ने जानकारी दिने काम डा.विकास साहले गरिरहनु भएको छ । विरामीको जानकारी र अवस्था डा.विकाससँग लिन आग्रह गछौं । विरामीहरुलाई काउन्सिलिंग निरन्तर दिइरहका छौं, दिन्छौं । 

covid-hospital3

गएको बैशाखको मात्र तथ्यांक हेर्दा १७० हाराहारी भर्ना भएका छन्, ३२ जना जति मृत्यु भएको छ । जति विरामी छन्, जटिल अवस्थामा नै आउनुहुन्छ । अक्सिजन सप्लाई गरेर हुन्छ कि, भेन्टिलेटरमा राखेर हुन्छ कि उपचार गछौं । सय वटा बेड छ, यो सय बेडले पुग्दैन । विभिन्न वार्डहरुलाई खाली गरेर भए पनि कोडिभ विरामी राख्ने, अक्सिजन पाइपलाइन विछ्याउने गृहकार्य हुदैछ । सय भन्दा बढी विरामीको चाप भयो भने त्यता पनि सञ्चालन गछौं । 

हाम्रो अक्सिजन प्लान्ट छ, पुर्णक्षमतामा अक्सिजनन उत्पादन भइरहेको छ । त्यही अक्सिजन पाइपलाइनबाट सप्लाइ गरिरहेका छौं । ओपिडी पनि बन्द भएको छैन, अस्पताल सेवा सुचारु नै छ । विरामी आउने संख्या न्युन छ, तर अस्पताल बन्द छैन । 

वीपीमा ठुलो अक्सिजन सिलिण्डरको संख्या कम छ, त्यसैले संख्या बढाउन खरीद गरिएको हो । १६ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन क्षमताको हाम्रो प्लान्ट हो । पुर्णक्षमताको साथ चलिरहेको छ, रोकिएको अवस्था छैन । सम्पुर्ण अक्सिजन विपीमा खपत छ । जति विरामी आउनुहुन्छ सयमा २० प्रतिशतलाई अक्सिजन चाहिन्छ । 

कोभिड अस्पतालको सय बेडमा आइसियु छ, एचडियु छ, पिआइसियु छ । डाइलाइसिस बेड छ, इर्मजेन्सी सस्पेक्टेड बेड पनि छुट्याइएको छ । बाहिरबाट विरामीहरु आउनुहुदा फोकल पर्सनलाई समन्वय गरेर आउनुहुन्छ । विरामीहरु आइसियु कि एचडियु चाहियो भनेर आइरहनु हुन्छ । बाहिरबाट रिफर भएर आउने विरामी आइसियु, भेन्टिलेटर र एचडियु चाहियो भनेर नै आइरहेको अवस्थामा सम्पुर्ण प्याक भएको हुनाले त्यो बेडहरु छैन भनेर जानकारी गराएको मात्र हो । बेड खाली भएर वा कम क्षमताको भएर नलिएको भन्ने होइन ।'