धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती र हाल लकडाउनमा खाद्यान्नमा अत्यधिक वृद्धि भइरहेको मुल्यको नियन्त्रण गर्न विभिन्न ८ राजनीतिक दलहरुले माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमुक्तिलगायत विभिन्न ८ दलले वीपी प्रतिष्ठानको बेथिती र महंगी नियन्त्रणको माग गरेका हुन् । ती राजनीतिक दलहरुले आज संयुक्तरुपमा धरान उपमहानगरपालिका पुगेर ज्ञापन पत्र बुझाए । यस्तै, सुनसरी उद्योग वाणिज्य संघ र इलाका प्रशासन कार्यालयमा पनि महंगी नियन्त्रणको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै मेयर राईले मुल्यवुद्धि र कालोबजारीको विषयमा धरान उपमहानगरका कर्मचारीहरुले निरन्तररुपमा बजार अनुगमन गरिरहेको बताए । लकडाउन गर्नुअघि धरान स्थित कृषि उपज बजार व्यवस्थापन समिति र उद्योग बाणिज्य संघसँग छलफल गरेर यस विषयमा सहकार्य गरिएको उनको भनाई थियो ।
धरानमा सागसब्जी र फलफुल अभाव हुन नदिनका लागि कृषि उपज बजारलाई संयोजन गर्ने जिम्मा दिएको मेयर राईले बताए । ‘धरानमा कहि कतै तरकारी, सागसब्जी र फलफुल अभाव भयो, मूल्यवृद्धि भयो भने हामिले तुरुन्तै एक्शनमा जाने र आपूर्ति गर्ने व्यवस्था मिलाएका छौं,’उनले भने । मेयर राईले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यापक रुपमा लापरबाही भईरहेको बताए । प्रतिष्ठानका उपकुलपति लगायत माथिल्लो तहका पदाधिकारीहरु सम्पर्क नभएको बताउँदै तल्लो तहका कर्मचारीहरुसँग मात्र सम्पर्क भइरहेको पनि उनको भनाई थियो ।
भिडियो :