धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको लागि भर्ना भएकी एक महिलाको रहस्यमय मृत्यु भएको छ ।
सामान्य अवस्थामा भर्ना भएकी सिरहा, गोलबजारकी ५५ बर्षीया महिलाको अस्पतालको बेडबाट लडेर गम्भीर घाइते भएको जानकारी परिवारलाई गराएका थिए । सोमबार दिउँसो २ बजे काउन्सेलिङको क्रममा डाक्टरहरुले आमा बेडबाट लडेको जानकारी गराएको ज्वाँई*धन नारायण श्रेष्ठले बताए । तर, सोढ ३ बजे तिर पुनः काउन्सेलिङमा लडेर नाक र निधार फुटेकोले आइसले सेकिरहेको भन्दै जानकारी दिएको ज्वाँई श्रेष्ठले बताए ।
राती करिब साँढे ७ बजेतिर अस्पतालले आमाको मृत्यु भएको जानकारी दिएको श्रेष्ठको भनाई छ । उनले अस्पतालले उपचारमा गम्भीर लापरवाही गरेको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन् । सामान्य अवस्थामा भर्ना भएकी आमा कसरी लडेर गम्भीर घाइते भइन् ? भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ आफुले नपाएको उनको भनाई छ ।
‘हिजो आइतबार बेलुकीसम्म डाक्टरले नर्मल छ भनेको थियो । आज दिउँसो २ बजे काउन्सेलिङमा बेडबाट लडेर अलिकति चोट लागेको छ, गाह्रो छ भन्यो । फेरि ३ बजे लडेर नाक फुटेको छ, निधार फुटेको छ, आइसले सेकिरहेका छौं भन्यो,’नेपाली सेनाको क्याप्टेनसमेत रहेका श्रेष्ठले भने,‘म यही छुँ, मलाई समयमा नै किन जानकारी दिइएन ? लड्नुको कारण के हो ? को जिम्मेवार हुने ? डाक्टर र नर्सहरु के हेरेर बस्यो ?’
आमा कसरी लडेको भनेर सिसिटिभी फुटेज पनि हेर्न नपाएको उनले बताए । आमा लडेकै हो भने पनि गम्भीर घाइते हुँदासम्म आइसियुमा नराखेको उनको गुनासो छ। ‘समयमा नै आइसियुमा किन राखिएन ? जर्बजस्ती भनेपछि मात्र लगियो । स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको छ,’उनले भने,‘यस्तो लापरवाही नहोस्, यो कुराको पनि छानबिन गरेर सत्यतथ्य सार्वजनिक हुनुपर्छ ।’
मृतकलाई सुगर बढेपछि परिवारजनले जनकपुर अस्पताल लगेका थिए । त्यहाँबाट वीपी रिफर भएपछि धरान ल्याएका थिए । दुई दिन इर्मजेन्सीमा राखेपछि पिसिआर गर्दा पोजेटिभ रिपोर्ट आएको र कोभिड अस्पतालमा भर्ना गरिएको थियो । जनकपुरमा कोभिड परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छोराको भनाई छ । कोभिड अस्पतलामा भर्ना हुँदा पनि आमाको स्वास्थ्य अवस्था सामानय नै रहेको उनको भनाई छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले घटनाबारे बुझेर प्रतिक्रिया दिने बताए ।
*ज्वाँई हुनुपर्नेमा छोरा भएकोले सच्याइएको छ ।
भिडियो :