विराटनगर: प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग छलफल गरेका छन् । 

आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा मुख्यमन्त्री राईले मंगलबार दिउँसो आवश्यक परामर्श गरेका हुन् । मुख्यमन्त्री राईका सचिवालयका अुनसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरुसँग छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेस संसदीय दलका  नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आंबो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादव सहभागी थिए ।

छलफलका क्रममा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल भएको उनले बताए । प्रदेश सरकारले संसद छलेर अध्यादेशमार्फत बजेट ल्याउन लागेको चर्चा चलिरहदा प्रदेश मुख्यमन्त्री राईले मुख्यमन्त्री राईले सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नगर्न पनि विपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।