धरान: आज रातीदेखि १ बजेदेखि धरानसहित विभिन्न जिल्लामा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
रानी-विराटनगर-ईटहरी-धरान सडक आयोजनाले तरहरास्थित सडक क्रसिङमा रहेको बिधुत टावर हटाएर अण्डरग्राउण्ड केवल जडान गर्ने भएकोले राती १ बजेदेखि विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरणको धरान वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १ बजेदेखि बिहान ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । तर, जडान गर्ने समय लम्बिएमा लाइन आउने समय पनि बढी हुनसक्ने वितरण केन्द्रको भनाई छ ।
केवल जडान गर्नको लागि ३३ केभी धरान फिडर सटडाउन गर्नु पर्ने भएकोले विद्युत अवरुद्ध हुनेछ । जसको कारण धरान उपमहानगरपालिकाको सम्पुर्ण वडा, बराह नगरपालिकाको वडा नं १ र २ मा विद्युत अवरुद्ध हुनेछ । यस्तै, ३३ केभी धरान फिडरबाट प्रभावित हुने क्षेत्रहरु धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा समेत उक्त अवधिमा विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।