झापा: झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र  ईलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । दुवैको साथबाट १४६ ग्राम ब्राउन सुगर वरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । उनीहरुलाई पक्राउ गरि थप सोथपुछ गर्दा मर्डीको बिर्तामोड १ मा रहेको डेराबाट समेत गरेर १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर वरामद भएको प्रहरीले जनाएको छ । यस्तै, नगद २ लाख ६९ हजार ३ सय, डिजिटल तराजु एक थान, डिजिटल क्यामेरा एउटा र उनी सवार प्र। १-०१-०१२ प ९५४५ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय अनामनीले थप अनुसन्धान गरिरहेको छ ।