धरान: नेकपा एमाले सुनसरीको संयुक्त बैठकले जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ ।

इनरुवास्थित ओम साई पार्टी प्यालेसमा आयोजक संयुक्त बैठकले नेता खेमराज पोख्रेल संयोजक रहेको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा निलम खनाल र नन्दकुमार बस्नेत छन् भने सचिवमा पर्शुराम यादव र सत्रुघन यादव रहेका छन् । यस्तै, उपसचिवमा लिलम बस्नेत र लोकेश निरौला रहेका छन् । यो कमिटीमा आगामी पुष मसान्तभित्र जिल्ला अधिवेशन गर्ने म्याण्डेट पाएको छ ।

sunsari-cpn1

रेवतीरमण भण्डारीको अध्यक्षतामा रहेको संस्थापन पक्षको कमिटी र रमेश बस्नेत कार्यवाहक अध्यक्ष रहेको जेठ २ अघिको कमिटीको संयुक्त बैठकमा दुवै जनालाई अध्यक्षता नगराउने सहमति भएको थियो । सोही अनुसार आजको संयुक्त बैठकको अध्यक्षता केन्द्रीय सदस्य धर्मराज निरौलाले गरेका थिए । नेताहरुबीच एक जना केन्द्रीय सदस्यको अध्यक्षतामा बैठक बस्ने सहमति भएको थियो । साथै, भण्डारी र बस्नेतलाई संयोजक नबनाई तेस्रो व्यक्तिलाई संयोजक बनाएर अधिवेशन आयोजना गर्ने सहमति अनुसार पोख्रेललाई संयोजकको जिम्मेवारी दिइएको हो । बैठकमा प्रमुख अतिथि एमाले पार्टी सचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज भीम आचार्य र बिशेष अतिथि १ नम्बर प्रदेश प्रमुख देवराज घिमिरे रहेका छन् ।

sunsari-cpn

भण्डारी पक्षको जिल्ला कमिटीका ४६१ जना सदस्यहरु आयोजक कमिटी सदस्यमा परिणत भएको छ भने बस्नेत पक्षका जिल्ला कमिटीको नामावली संलकन भइरहेको जिल्ला कमिटी सदस्य रवि खनालले जानकारी दिए । उनका अनुसार अहिले नेताहरुले अधिवेशन आयोजक कमिटीलाई शुभकामना मन्तव्य व्यक्त गरिरहेका छन् । 

धरानका जेठ २ पक्षले बैठक बहिष्कार

संयुक्त बैठकलाई जेठ २ पक्षको कमिटीका धरानका जिल्ला सदस्यहरुले भने बहिष्कार गरेका छन् । आज बिहान होटल ड्रिमल्याण्डमा बसेको बैठकले १० बुँदे, पार्टी निर्णय र कार्यदलको निर्णय विपरीत कमिटी गठन हुने गरि बसाएको बैठक वैध नहुने भन्दै बहिष्कार गर्ने निर्णय गरेको थियो ।