धरान: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उपस्थित नभएपछि प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन पाएनन् । 

प्रदेश सभा बैठक बसे पनि प्रमुख प्रतिपक्षी दलका कोही पनि सांसदहरु उपस्थित नभएकोले मुख्यमन्त्री राईले विश्वासको मत लिन नपाएका हुन् । सभामुख प्रदिप भण्डारीले प्रतिपक्षी दलको कोही पनि उपस्थित नभएपछि भोली बिहान साढे ११ बजेसम्मको लागी बैठक स्थगित गरेका छन् । संसद नियमावलीमा प्रतिपक्षी दलका कोही पनि सांसद उपस्थित नभए संसद बैठक नहुने भन्ने उल्लेख छ । त्यसैले आज विश्वासको मतको प्रस्ताव टेवल हुन नपाई बैठक स्थगित भएको हो ।

प्रदेशसभा बैठक भोली (बुधबार) बिहान साढे ११ बजेसम्मको लागी स्थगित गर्दै सभामुख भण्डारीले प्रमुख प्रतिपक्षी दलहरुलाई अनिवार्य उपस्थितिको लागी रुलिंग पनि गरेका छन् । बैठक अघि पनि नेकपा एमालेले संद बैठक स्थगित गर्न माग गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलहरुले भने बैठक रोक्न एमालेले गरेको माग अस्वीकार गरेका थिए । गठबन्धन दलहरुले संसद बैठक नरोक्ने निर्णय लिएपछि एमालेका कोही पनि सांसदहरु बैठकमा नगएका हुन् । एमालेले आज विप्लवको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक रोक्नुपर्ने माग गरेको थियो ।